अन्ततोगत्वा माधव नेपाल नेतृत्वको पार्टी दर्तासँगै एमालभित्र चल्दै आएको गृहयुद्धले तत्कालका लागि निकास पाएको छ । यसबाट कसलाई कति फाइदा भयो भन्दा पनि यसबाट केही हदसम्म राजनीतिक तुवाँलो हटेको छ । संसद्, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले जीवनदान पाएको छ । सरकारले पूर्णता पाउने बाटो खुुलेको छ र सबभन्दा बढी केपी शर्मा ओलीको मनपरीतन्त्र र प्रतिगमनकारी प्रवृत्ति परास्त भएको छ । यो देश र जनताको हितमा छ । दुईतिहाइ बहुमतको कम्युनिस्ट सत्ता ढल्नु र पार्टी विखण्डित हुनु एउटा दुःखद घटना हो ।
यसले कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याएको देखिन सक्छ, तर वास्तवमा न त ओली सत्ताले कम्युनिस्ट सत्ताका रूपमा काम गरिरहेको थियो, न त्यो पार्टीले कम्युनिस्ट पार्टीकै रूपमा काम गरिरहेको थियो । बल्कि पार्टीको संरक्षणमा कम्युनिस्टको खोल ओढी भ्रष्टाचारीहरूको जमातले चलाइरहेको भ्रष्ट सरकार थियो त्यो । त्यसका क्रियाकलापबाट कम्युनिस्टमा भ्रष्टाचार र नैतिक पतनको महारोग फैलिँदै थियो र आन्दोलनलाई नै पथभ्रष्ट गर्दै थियो । कम्युनिस्टहरू संसदीय भासमा भासिँदै थिए । नेपाल नेतृत्वको नयाँ पार्टी र ऊसहितको संयुक्त सरकाको चरित्र र भविष्य के होला, त्यो भविष्यले देखाउनेछ । तर, अहिलेका लागि ओली गुटको बहिर्गमन, संसद्, संविधान र संघीय लोकतन्त्रको संरक्षणका लागि गरेका कामका लागि माधव नेपाल तथा सिंगो समूह बधाईका पात्र हुन् । उनीहरूको यस कदमले उनले घोषणा गरेजस्तो नेपालको कम्युनिस्ट आन्दोलनको शुद्धीकरण, सैद्धान्तिक र राजनीतिक आधारमा ध्रुवीकृत गर्न कति मद्दत गर्ला त्यो यस पार्टीले भविष्यमा लिने नीति, व्यवहार तथा आचरणमा निर्भर गर्नेछ ।
एकतन्त्रीय निरंकुशता समाप्त गरी प्रजातान्त्रिक व्यवस्था र जनउत्तरदायी शासन प्रणालीको संस्थागत विकासका लागि जनताले अपार बलिदान दिएका हुन् । समानता, तीव्र विकास र सुशासनको नारा लिएर कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे । जनताले पनि आर्थिक अभाव र दरिद्रता समाप्त होला भन्ने आशामा उनीहरूमाथि विश्वास गरे । तर, जनताको त्यो सपना पूरा हुन सकेन । दोस्रो क्रान्तिपछिको डेढ दशकमा देशको राजनीति तथा सत्तामा कम्युनिस्टको वर्चस्व रह्यो । कम्युनिस्टहरूले पटक–पटक पूर्ण बहुमतसहित सत्ताको नेतृत्व गरे । तर, न यस देशमा प्रजातान्त्रिक परिपाटी र राजनीतिक संस्कार स्थापित हुन सक्यो, न योजनाबद्ध दिगो राष्ट्रिय विकास तथा स्वावलम्बी आर्थिक विकासले कुनै दिशा नै लिन सक्यो । कुनै पनि कम्युनिस्टका लागि योभन्दा लज्जास्पद अवस्था अर्को के हुन सक्छ ?
ओली मानसिक र चारित्रक दुवै रूपमा कम्युनिस्ट होइनन्, तिकडमबाज, महत्वाकांक्षी राजनीतिक खेलाडी हुन् भन्ने समयक्रमले नै प्रमाणित ग¥यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमा आसीन भएपछि आफ्नो महत्वाकांक्षा पूरा गर्न माधव नेपाल र झलनाथ खनाललाई घुँडा टेकाउनु र प्रचण्डलाई किनारा लगाउनु जरुरी थियो । त्यसका लागि तीन वर्षसम्म उनले अनेकौँ तिकडम लगाए । यस अन्तरसंघर्षमा कमजोर हुँदै गएपछि शक्ति आफ्नै हातमा राखी महाधिवेशन र निर्वाचनका माध्यमबाट तिनलाई किनारा लगाउने उद्देश्यले संसद् विघटन गरी निर्वाचन र महाधिवेशनको गोटी चाले । त्यो अस्त्र पनि विफल भएपछि अदालतको ब्रह्मास्त्र प्रयोग गरेर पार्टी विभाजन गरी प्रचण्डलाई किनारा लगाए र खनाल–नेपालविरुद्धको संघर्षमा आफूलाई बलियो बनाउन त्यसका केही हस्तीलाई आफूसँग मिलाए ।
तर, उनले खनाल–नेपाल समूहलाई सजिलै घुँडा टेकाउन सकेनन् । एकातर्फ ओलीका असंवैधानिक कदमविरुद्ध राजनीतिक मोर्चाबन्दी र त्यसमा नेपालको संलग्नता तथा अर्कातर्फ ओलीको दादागिरीबाट पिल्सिएका एमालेभित्र दोस्रो तहका हस्ती मानिनेहरू निर्णायक संघर्षका लागि माधव नेपालसँगै ‘होस्टेमा हैँसे’ गर्दै थिए । ओलीका लागि सो समूहलाई नेपालबाट विमुख गराउन आवश्यक थियो र माथिल्लो सदनको निर्वाचनको पूर्वसन्ध्यामा वार्ताटोलीको तुरुप फाली यसको श्रीगणेश गरे । यस प्रक्रियामा एकातर्फ माधव नेपालमाथि सोझो प्रहार र अर्कातर्फ मेलमिलापको नाममा मध्यमार्गीहरूको यथोचित प्रयोग गरियो ।
एमालेको विखण्डनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरणका सम्भावना देखिएका छन् । तर, यसको केन्द्र को हुने ? आधार के हुने ? र, उद्देश्य के हुने ? यी प्रश्न अझै अनुत्तरित छन् ।
दोस्रो संसद् विघटनपछि मुद्दालाई निष्प्रभावी गर्न ओलीकै सहमतिमा वार्ताटोलीको दशबुँदे सहमति सार्वजनिक गरियो र त्यसलाई आफ्नो केन्द्रीय समितिले समेत स्विकारेको प्रचार गरियो । पटक–पटक धोखा पाएर अपमानित भएका नेपालले त्यो अमूर्त तथा जालझेलको सहमति स्विकारी ओलीसमक्ष आत्मसमर्पण गर्ने सम्भावना थिएन र गरेनन् । नेपालले पार्टीदर्ता प्रक्रिया अगाडि बढाएपछि त्यस समूहमा फुट गराउन कथित ‘मध्यमार्गीहरू ?’ लाई नेपालविरुद्ध खडा गर्न यो सुनौलो अवसर थियो । ओलीले चालाखीपूर्ण तरिकाले यसको उपयोग गरे । दशबुँदे सहमति कार्यान्वयनको मोडालिटी तय गर्ने नाममा ओलीपक्षीय ‘एकता पक्षधर’ ? भनिनेहरूले उनीहरूलाई पुरानै स्थान दिने सहमतिसहित बैठक आयोजना गरी आफ्ना भावी कार्यक्रम, संगठनको ढाँचा, महाधिवेशनको मिति आदि तय गरी आफ्नो लक्ष्यतिर अगाडि बढे । पार्टी विभाजनबाहेक माधव नेपालका लागि अर्को विकल्प रहेन ।
घटना विकासले के देखायो भने ओलीविरुद्ध नेपालको संघर्षमा ‘होस्टे हैँसे’ गर्ने दोस्रो पुस्ता भनिने जमात ओली र उनीद्वारा पोषित भ्रष्ट जमातबाट पार्टीलाई मुक्त गरी वैचारिक र राजनीतिक आधारमा पार्टी पुनर्गठित गरी त्यसलाई नवजीवन दिने लक्ष्यभन्दा पार्टीभित्र आफ्नो गुमेको साख पुनः प्राप्त गर्ने उद्देश्यले ओलीमाथि दबाब सिर्जना गर्न नेपालको साथ दिएका थिए । तर, त्यस जमातको शक्ति, सामथ्र्य र तिनले जान सक्ने सीमाको नाडी छामिसकेका राजनीतिका कुशल खेलाडी ओलीले त्यसैअनुसार आफ्नो तुरूप फाले । फलस्वरूप ‘एकताका पक्षधर ?’ भनिनेहरू माधव नेपाललाई निर्णायक मोडमा धोका दिएर ओली खेमामा पुगे ।
एमालेको विखण्डनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरणका सम्भावना देखिएका छन् । तर, ध्रवीकरणको केन्द्र को हुने ? आधार के हुने ? र उद्देश्य के हुने ? यी प्रश्न अझै अनुत्तरित छन् । अहिले नै कुनै चमत्कार वा पुनः जनविश्वास आर्जन गर्न सक्ने एकीकृत कम्युनिस्ट पार्टीको जन्म हुने अवस्था त छैन, तर आमजनता त्यसको प्रतीक्षामा भने छन् ।
एमालेको ‘जनताको बहुदलीय जनवाद’ विगतमा आफूलाई बहुदलीय प्रजातान्त्रिक धारमा संक्रमण गराउन स्विकारेको कार्यक्रम थियो । यसले पुँजीवादी बहुदलीय प्रजातान्त्रिक परिपाटीको सीमा नाघ्दैन । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापनासँगै यसको सान्दर्भिकता समाप्त भएको छ । र, यसले समाजवादउन्मुख आर्थिक–सामाजिक संरचनाको दिशा परिभाषित गर्दैन । अर्कोतर्फ यसप्रतिको मोहले सैद्धान्तिक र कार्यक्रमगत रूपमा कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणको मार्ग अवरुद्ध गर्छ । आजका लागि समाजवादको लक्ष्य टाढाको विषय हो । आजको अवस्था त्यस दिशामा संक्रमणका लागि पहिलो पाइला चाल्नुपर्ने अवस्था हो । यसका लागि एकातर्फ समाजको आर्थिक सामाजिक र राजनीतिक रूपान्तरण तथा दैनिक जनजीवनमा परिवर्तका लागि सक्दो बढी कम्युनिस्टहरूलाई समेट्न सक्ने स्पष्ट व्यावहारिक कार्यक्रम आवश्यक छ भने अर्कोतर्फ त्यसको व्यावहारिक कार्यान्वयनबाट जनसमर्थन जुटाउनुपर्ने आवश्यकता छ ।
नेपालमा कम्युनिस्ट आन्दोलनप्रति अझै बलियो जनसमर्थन छ । पार्टी तथा सरकारको गैरकम्युनिस्ट चरित्र, कथनी र करनीमा रहेको भिन्नताले आज यो अवस्था भताभुंग भएको मात्र छैन, देशको कम्युनिस्ट आन्दोलन नै अधोगतितिर मोडिएको छ । अर्को यथार्थ के हो भने कम्युनिस्ट आन्दोलन प्रमुख रूपमा सहरिया मध्यमवर्ग र ग्रामीण किसानको समर्थनमा टिकेको छ । अवसरवाद र ढुलमुलपन यसको चारित्रिक विशेषता हो । यसमा ध्यान दिनु आवश्यक छ ।