‘ड्रेस सिलाएपछि मात्रै ओलम्पिकमा खेल्दै छु भन्ने था’भो’

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण
‘ड्रेस सिलाएपछि मात्रै ओलम्पिकमा खेल्दै छु भन्ने था’भो’

रामप्रसाद गुरुङ

ओलम्पियनको अनुभव

सन् १९६४ को गृष्मकालीन ओलिम्पिक पनि जापानमा नै आयोजना भएको थियो । नेपालबाट ६ जना खेलाडीले सहभागिता जनाएको यस ओलम्पिकमा चारजना बक्सिङ खेलतर्फका थिए । चारजनामध्ये एक थिए भरतपुर–२२ बरौजीका रामप्रसाद गुरुङ । 

सन् १९५९ मा १४ वर्षको उमेरमा उनी ब्रिटिस आर्मीमा भर्ती भएका थिए । आर्मीमा सेवा गरेर जीवन कटाउने सपना देखेका उनले जागिरे जीवनमै ओलम्पिकमा सहभागी हुने महत्वपूर्ण अवसर पनि प्राप्त गरे । सेवा सुरु गरेको चार वर्षपछि उनी ६ महिने छुट्टीका लागि नेपाल आएका थिए । नेपाल आएको महिना दिन पनि नबित्दै पल्टनबाट छिट्टै फर्कनू भन्ने खबर आयो । सुरुमा त उनी छुट्टी नसकी नजाने भन्ने सोचमा थिए ।

घरमा खेतीकिसानी पनि गर्ने भएकाले काममा व्यस्त थिए । तर, तत्काल काठमाडौं कार्यालयमा हाजिर हुन भनेपछि उनी गए । काठमाडौं गएकै दिन उनी हङकङस्थित पल्टनमा हाजिर पनि भए । यतिवेलासम्म पनि उनलाई किन बोलाइयो भन्ने केही थाहा थिएन । पछि ओलम्पिकमा लगाउने पोसाक सिलाउन लागेपछि मात्रै थाहा पाएको उनी बताउँछन् । ‘हङकङमा ड्रेस सिलाउँदा बल्ल ओलम्पिकमा सहभागी हुँदै रहेछु भन्ने थाहा पाएँ,’ उनले भने । ओलम्पिकमा सहभागी हुनुअघि जापानको ओकिनाओ पुगेर एक साता अमेरिकन फोर्ससँग बसेको र बक्सिङ तालिम लिएको उनको भनाइ छ । 

आफ्नो खेलको अवस्थाबारे अफिसरहरूले नै नेपाल सरकारलाई जानकारी दिएपछि छनोट हुन सफल भएको उनी बताउँछन् । ‘ओलिम्पकमा पहिलो म्याचमा हारे ।’ हंगेरियनसँग पहिलो म्याच खेलेको सम्झँदै उनले भने, ‘तालिम र उपकरण चलाउन नजान्दा सिकारुजस्तो भएर खेल्नुपरेको छ, जुन बाध्यता अहिलेको खेलाडीमा पनि पाएको छु ।’ बक्सिङबाहेक उनी फुटबल, जुडो पनि खेल्थे ।

जुडो खेल्दा घुँडामा चोट पुगेको कारण अहिले पनि समस्या भोगिरहेको उनी बताउँछन् । कुनै पनि खेलको सफलताका लागि निरन्तरता दिनुपर्ने उनको अनुभव छ । जागिरे जीवनमा आफ्नो प्राथमिकता आर्मी सेवा भएकाले खेललाई प्राथमिकता दिन नसकेको उनी बताउँछन् । अन्य देशका नागरिकसँग भएका बक्सिङ खेलहरूमा जितेको सम्झँदै उनले भने, ‘खेलमा हार–जित हुन्छ, आत्तिनु हुन्न ।’ 

रामप्रसाद जनवरी १९९० मा निवृत्त भए । त्यसपछि पनि उनी बु्रनाई सरकारको सञ्चार सहयोगीका रूपमा काम गरे । नेपालको पहिलो ओलम्पियनका रूपमा परिचित रामप्रसाद गुरुङ भन्छन्, ‘संसारभरका खेलाडी जम्मा हुने ठाउँमा नेपालको झन्डा फहराउन पाउँदा खुसी लाग्यो ।’ 

सुझावित समाचार