ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ : माधव नेपाल, वरिष्ठ नेता, एमाले
संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र थियो । हामीले संसद् जोगाएर त्यो ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ । जसले पार्टीका तर्फबाट संसद् जोगाउन मतदान गर्नुभो, उहाँहरू सबैलाई धन्यवाद । तर, जसले अन्तिममा मत नदिएर तटस्थ बस्नुभो, उहाँहरूलाई पनि धन्यवाद नै छ । किनभने तटस्थ बस्ने साथीले पनि ओलीलाई प्रत्यक्ष सहयोग गर्नुभएन ।
ओलीका गतिविधि एकताविरोधी छन् : युवराज ज्ञवाली, नेता, एमाले

अहिले एकता प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षले केन्द्रीय कमिटी बैठकबाट दशबुँदे सहमतिको प्रस्ताव अनुमोदन गरेको छ, अर्कोतिर सांसदलाई स्पष्टीकरण सोध्ने, माधव नेपालविरुद्ध विभिन्न जनवर्गीय संगठन लगाएर अनेक खालका अभद्र, अशिष्ट र अलोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने काम भएका छन् । यसले एकतामा भाँजो हाल्ने काम गर्छ ।
... ...
एमालेको माधवकुमार नेपाल समूहले संस्थापन पक्षका पछिल्ला गतिविधि पार्टी एकताविरोधी रहेको निष्कर्ष निकालेको छ । बुधबार स्थायी कमिटी बैठकमा बोल्ने सदस्यहरूले कारबाही प्रक्रिया, नारा–जुलुस र अध्यक्ष केपी ओलीका गतिविधि एकताविरोधी रहेको बताएका हुन् ।
अराजनीतिक क्रियाकलाप तत्काल बन्द गरेर एकताको वातावरण बनाउन असन्तुष्ट समूहले संस्थापन पक्षसँग माग पनि गरेको छ । सरकारलाई विश्वासको मत दिएको विषयलाई लिएर संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण पठाएपछि बसेको असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले एकताको वातावरण बनाउन संस्थापन पक्षको ध्यानाकर्षण गराएको हो ।
बैठकमा नेता नेपालले संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र परास्त गरेको बताएका थिए । देउवालाई विश्वासको मत नदिने आफ्नो समूहका सांसदहरूप्रति भने उनले असन्तुष्टि राखे ।
‘संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र थियो । हामीले संसद् जोगाएर त्यो ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ,’ नेपालको भनाइ थियो, ‘जसले पार्टीका तर्फबाट संसद् जोगाउन मतदान गर्नुभो, उहाँहरू सबैलाई धन्यवाद । तर, जसले अन्तिममा मत नदिएर तटस्थ बस्नुभो, उहाँहरूलाई पनि धन्यवाद नै छ । किनभने तटस्थ बस्ने साथीले पनि ओलीलाई प्रत्यक्ष सहयोग गर्नुभएन ।’
बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, रघुजी पन्त र मुुकुन्द न्यौपानेले धारणा राखेका थिए । स्थायी कमिटी सदस्य ज्ञवालीले संस्थापन पक्षका गतिविधि एकताविरोधी देखिएको बैठकको निष्कर्ष भएको बताए । तर, आफूहरूको प्रयास एकतामै केन्द्रित हुनुपर्ने सुझाब आएको उनले बताए ।
‘संसद् बचाउन मतदान गरेर नेपालको संविधानको रक्षा गर्ने महत्वपूर्ण काम भएको छ, अब हाम्रा सम्पूर्ण क्रियाकलाप र गतिविधि पार्टीलाई एकताको दिशामा फर्काउने कुरामा केन्द्रित हुनुपर्छ भन्ने सुझाब आएको छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘तर, अहिले एकता प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षले केन्द्रीय कमिटी बैठकबाट दशबुँदे सहमतिको प्रस्ताव अनुमोदन गरेको छ, अर्कोतिर सांसदलाई स्पष्टीकरण सोध्ने, माधव नेपालविरुद्ध विभिन्न जनवर्गीय संगठन लगाएर अनेक खालका अभद्र, अशिष्ट र अलोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने काम भएका छन् । यसले एकतामा भाँजो हाल्ने काम गर्छ भन्ने बैठकको निष्कर्ष छ ।’
उनले दुवैतर्फबाट एकताविरोधी गतिविधि बन्द गरेर सबैले आ–आफ्नो ठाउँबाट पार्टी एकताका लागि योगदान पुर्याउनुपर्नेमा बैठकले जोड दिएको पनि बताए । ‘सर्वोच्च अदालतको फैसला खण्डित हुने गरी क्रियाकलाप गर्नु संविधान र सर्वोच्चको फैसलाविपरीत हुन्छ । संविधानको सर्वोच्चता मान्ने पार्टीले संविधान र सर्वोच्च अदालतको फैसलाबमोजिम भएको कामलाई रोक्न मिल्दैन । त्यसैले कारबाही रोकेर एकताका लागि सबैतिरबाट वातावरण बनाउनुपर्छ,’ ज्ञवालीले भने ।
स्थायी कमिटीका अर्का सदस्य भुसालले आफूहरूले कांग्रेसको नेतृत्वमा सरकार बनाउन नभएर प्रतिनिधिसभा पुनर्स्थापना र संविधान बचाउने कामको अगुवाइ गरेको तथा त्यसले सफलता प्राप्त गरेकाले अबको सम्पूर्ण ध्यान पार्टीलाई एकताबद्ध बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने सुझाब राखेका थिए ।
‘हामीले संसद् बचाउने काममा महत्वपूर्ण योगदान पुर्यायौँ, संसद् र संविधान बच्यो । अब सम्पूर्ण शक्ति पार्टी एकतामा केन्द्रित गर्नुपर्छ,’ बैठकमा भुसालको भनाइ थियो ।
स्थायी कमिटीका अर्का सदस्य पन्तले पनि ज्ञवाली र भुसालकै जस्तो सुझाब राखेका थिए भने मुकुन्द न्यौपानेले भने ओलीसँग मिलेर जान सकिने सम्भावना न्यून रहेको धारणा राखेका थिए । ‘केपी ओलीमा कम्युनिस्ट आचरण र व्यवहार केही नै छैन, त्यसैले उनी कम्युनिस्ट नै होइनन्, त्यस्ता मान्छेलाई सुधारेर सँगसँगै जान सकिँदैन, त्यसैले क्रान्तिकारी दिशामा अगाडि बढ्न अब विकल्प खोज्नुपर्छ,’ न्यौपानेको भनाइ उद्धृत गर्दै स्थायी कमिटी एक सदस्यले भने ।
स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताबारे स्थायी कमिटी सदस्यको एकैखाले सुझाब आएको बताए । ‘पार्टी एकताबारे सबैको एउटै दृष्टिकोण प्रस्तुत भएको छ, कतिपय विषयमा मात्र कतिपयको बुझाइ फरक–फरक छ, तर घुमिफिरी पार्टीलाई विभाजित गर्ने र प्रतिपक्षको सट्टा सरकारमा सहभागी हुनुुपर्छ भन्ने धारणा स्थायी कमिटीमा छैन भन्दा पनि हुन्छ ।’
बैठकमा नेताहरूले स्थायी कमिटी सदस्य भीम रावलको अनुपस्थितिलाई लिएर नेपालसँग जिज्ञासा राखेका थिए । दशबुँदे सहमतिअनुसार पार्टीलाई एकताको दिशामा फर्काउनुपर्ने र सरकारलाई विश्वासको मत दिन नहुने अडान राखेका रावल वरिष्ठ नेता नेपालको पछिल्लो कार्यशैली र भूमिकाप्रति असन्तुष्ट थिए ।
नेपालले सरकारलाई तत्काल विश्वासको मत दिने विषयमा आफ्नो समूहभित्र छलफल नगरी निर्णय गरेको भन्दै असन्तुष्ट रावलले मतदानपूर्व सांसद पदबाट राजीनामा दिएका थिए । रावलको अनुपस्थितिमाथि प्रश्न उठाउँदै अधिकांश स्थायी कमिटी सदस्यले संवाद गर्न सुझाएपछि वरिष्ठ नेता नेपाल उनलाई भेट्न टोखा पुगेका थिए । त्यहाँ उनले सुदूरपश्चिमका संघीय सांसद, प्रदेश सांसद र मन्त्रीहरूसहितको उपस्थितिमा करिब दुई घन्टा रावलसँग संवाद गरेका छन् ।