मन्थली नगरपालिकाका न्यायिक समितिका सदस्य एवं बोगटी एन्ड ब्रदर्श निर्माण सेवाका प्रोपाइटर नारायणबहादुर बोगटीले ठेक्का लिएर बनाउँदै गरेको भवनको वाल मन्थली खानेपानी उपभोक्ता समितिका सदस्यहरूले भत्काइदिएका छन् ।
मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत मन्थली नगरपालिका– १ चुच्चे ढुंगामा रहेको खानेपानी रिजर्भ ट्यांकीछेउमा भवन निर्माण हुन लागेको हो । दुईकोठे पालेघर निर्माणको ठेक्का लिएका न्यायिक समितिका सदस्य बोगटीले प्रयोग गरेको सामग्री कमसल र लगाएको वाल नै गुणस्तरहीन भएको भन्दै सबै गारो भत्काइदिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य दीपकराज दाहालले जानकारी दिए ।
उनले भने, ‘काम राम्रो र गुणस्तर हुन्छ भनेर हामीले निर्माण समिति गठन गरेर कामको जिम्मेवारी न्यायिक समितिका सदस्य एवं निर्माण व्यवसायीलाई दियौँ । अरूले गरेको कामको अनुगमन र खबरदारी गर्ने न्यायिक समितिका सदस्यले राम्रो गुणस्तरको काम गर्लान् भन्नेमा हामी विश्वस्त थियौँ । तर, कामको जिम्मेवारी पाएका निर्माण व्यवसायीले गरेको काम देख्दा हामी लज्जित हुनुपर्यो ।’
पालेघर निर्माणको निरीक्षणमा पुगेका संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र सापकोटाले निर्माण व्यवसायीले गरेको कामको एक रुपैयाँ पनि भुक्तानी नगर्ने जानकारी दिए । उनले भने, ‘यस्तो गुणस्तरहीन काम मैले अन्त कहीँ पनि देखेको छैन । अहिले लगाएको सबै वाल भत्काएर गुणस्तर काम नगरेसम्म कार्यालयले एक रुपैयाँ पनि भुक्तानी दिँदैन ।’
खानेपानी खोल्न र बन्द गर्न पालेहरूलाई असहज भएको भन्दै मन्थली खानेपानी उपभोक्ता समितिले संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग रकम माग गरेको थियो । उपभोक्ता समितिको मागको आधारमा संघीय खानेपानी डिभिजन कार्यालयले दुईकोठे पालेघर निर्माणका लागि चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ प्रदान गरेको थियो । सोही रकमबाट उपभोक्ता समितिले आफैँ काम नगरी निर्माण समिति गठन गरेर कामको सुरुवात गरेको हो ।
मन्थली खानेपानी उपभोक्ता समितिले असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी संघीय खानेपानी डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो । तर, अहिलेसम्मको कामको प्रगति हेर्दा असारमसान्तसम्म पनि काम सक्ने छाँटकाँट नदेखिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य हरिशरण सुवेदीले बताए ।
न्यायिक समितिका सदस्य एवं निर्माण व्यवसायी बोगटीले मन्थली नगरपालिकाभित्र खानेपानी योजनालगायत विभिन्न योजनाको कामको जिम्मेवारी पाएका छन् । अहिले उनले गरेको दुईकोठे पालेघर निर्माणको अवस्था हेर्दा उनका बाँकी योजनाका कामहरू कति गुणस्तरयुक्त हुन्छन् भन्ने विषयमा सबैले चासोको रूपमा हेरेका छन् ।