नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको अनुरोध

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण
नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको अनुरोध

मनाङको नासो गाउँपालिका १ मा पर्ने मर्स्याङ्दी नदिछेउको ताल गाउँ ।

मनसुन सुरु भएसँगै निरन्तरको वर्षाले मर्स्याङ्दी नदीको बहाब बढेकाले  नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन मनाङ प्रशासनले अनुरोध गरेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए । 

 उनले भने, ‘मनाङको नासोँ गाउँपालिका– १ को तालगाउँ मर्स्याङ्दी नदीकै किनारमा छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकोले खोलाको बहावको जोखिम रहेको भन्दै तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गरेको लामिछानेले बताए ।

‘स्थानीय सुरक्षा निकाय र लमजुङ प्रहरीलाई समेत अलर्ट बस्न भन्दै तालगाउँको बस्तीका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ,’ उनले भने । प्रशासनसँगै मनाङ प्रहरीले पनि उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । ‘तालगाउँ बस्ती खोला किनारसँगै जोडिएको छ,’ प्रजिअ लामिछानेले भने, ‘जुनसुकै समय जे पनि हुन सक्छ, त्यही भएर स्थानीयलाई सचेत हुन भनेका छौँ । प्रहरीलाई पनि अलर्ट गरेका छौँ ।’ 

तालगाउँसँगै तालगाउँमाथिका सिरानताल, खोत्रो, बगरछाप, धारापानी र चामेलगायतका गाउँ मर्स्याङ्दीको बाढीबाट बढी जोखिममा रहेको स्थानीय बताउँछन् । नासों गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेका अनुसार मर्स्याङ्दी किनारका बस्तीमा जोखिम बढेको छ । नदीको छेवैमा भएकाले तालगाउँ बढी जोखिममा छ । मनाङमा मनसुन सुरु हुनुभन्दा अगाडि जेठ १३ गतेको वर्षाले बाटो अवरुद्ध बनाएको छ । चामे गाउँपालिका– १ को तिमाङ झरना र स्यार्कु खोलाको अस्थायी काठेपुलसमेत बगाएको छ । 
 

See More On

सुझावित समाचार