स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो डोल्पा । त्यसो त डोल्पाको प्राकृतिक सुन्दरतासँग सामीप्यता गाँस्न बर्सेनि हजारौँ पर्यटकहरू डोल्पा आइपुग्ने गर्दछन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने से–फोक्सुन्डाे ताल,धो भ्याली से–गुम्बा,रिबु गुम्बालगायतका गुम्बाहरू पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति,जीवनशैली पनि पर्यटकले निकै रुचाउने गर्दछन् ।
उपल्लो डोल्पाको यात्रामा बाटाघाटामा कलात्मक रूपबाट चिस्तुम,गुम्बाहरू निर्माण गरिएको देख्न पाइन्छ । रूख,लाप्का र पुलहरूमा विभिन्न रङका थान्काहरू पनि झुन्ड्याइएका हुन्छन् ।बस्तीनजिक पुग्नुअघि बौद्धधर्म झल्काउने कलात्मक प्रवशेद्वारहरू खडा गरिएका हुन्छन् । यी सबै बौद्ध धर्मप्रतिको अटुट आस्था र त्यसको प्रचार–प्रसार हो । गाउँमा पुगिसकेपछि त केही दूरीको अन्तरमा गुम्बा तथा चिस्तुम देख्न पाइन्छ ।
यस्ता गुम्बा,चिस्तुम र घरघरमा बेरिएका थाङ्का चित्रले आफ्नो घर परिवार र गाउँठाउँ र रक्षा गर्ने विश्वास रहेको छ ।
जिल्लामै बौद्धमार्गीहरूको मुख्य वासस्थानका रूपमा रहेको उपल्लो डोल्पामा र तल्लो डोल्पाका केही क्षेत्रमा देखिने यस्ता संरचना आस्थाका मुख्य धरोहर हुन् ।
तर,पछिल्लो समयमा तिनै धरोहरहरू एकपछि अर्को गर्दै चोरी हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
उनीहरूलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बाहरूलाई जोगाउन हम्मेहम्मे परेको छ ।

रित्तिन थाले
गुम्बा बौद्धमार्गीहरूका आस्थाका धरोहरका रूपमा रहेका प्राचीन मूर्तिहरू प्रत्येक वर्ष चोरी हुन थालेका छन् ।
तल्लो डोल्पा र माथिल्लो डोल्पासम्म पर्ने विभिन्न प्राचीन मूर्ति एकपछि अर्को गर्दै शृंखलाबद्ध रूपमा चोरी हुन थालेपछि गुम्बा नै रित्तिन थालेका हुन् ।
पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको से–गुम्बा, सेलरी सोम्दो, बोन,मिखिम, गाँकर गुम्बालगायतका प्राचीन गुम्बाबाट २७ थान पुरातात्त्विक मूर्ति चोरी भएकोमा चार थान मूर्ति मात्रै बरामत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार ०७२ मंसिर ८ महिना २७ गते से–फोक्सुन्डाे उँपालिका ३ मा रहेको सेलरी सोम्दो गुम्बाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेलापर्न सकेको छैन । त्यसैगरी, डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत्र २८ गते राति चार थान बुद्धका मूर्ति बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो ।
पुरातात्त्विक मूर्तिहरुसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थहरू पनि हराएका थिए । हराएका चार थान मूर्तिहरूमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको प्रहरीले जनाएको छ । एक थान मूर्ति अझै फेला पर्न सकेको छैन ।
पुरातात्त्विक मूर्ति र धम्रगन्थ चेकजाँचका लागि पूरातत्त्व विभाग काठमाडाैं लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामैे स्थापना गरिएको पुरातत्त्व विभागले जनाएको छ । त्यस्तै छार्काताङसोङ गाउपालिका १ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको १ थान बुद्धको मुर्ति प्रहरी र स्थानीयको सक्रियतामा तत्काल बरामत गरिएको थियो ।
त्यस्तै से–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका सात थान मूर्तिहरू अझै पत्ता लाग्न सकेको छैन । ‘गुम्बाका मूर्तिसबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ,चोर पत्ता लागेर पनि कोही कारागारमा छन्, कोही धरौटीमा छुटिसके, मूर्ति भने अझै पत्ता लाग्न सकेका छैनन् ’से–फोक्सुन्डाे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष निमा लामाले भने ।
‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्,बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्, अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ’ लामाले थपे । नेपालकै गहिरो से–फोक्सुन्डो तालकाे छेउमै रेहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको थियो । ताल पुगेका पर्यटकहरू एकपटक गुम्बा पुगेरै फर्किने गरेको वडा अध्यक्ष लामाले बताए ।