अमेरिकाको न्युयोर्कमा ‘नेपाल डे’ विशेष रूपमा मनाइएको छ । न्युयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात् नेपाल डेको रूपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको हो । 
न्युयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई नेपाल डेको रूपमा मनाउने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा सम्पन्न गरिएको नेपाल डे कार्यक्रममा न्युयोर्कमा क्रियाशील सबैजसो संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । विभिन्न नेपाली जातजातिका पोसाक र बाजागाजासहित उपस्थित भएका नेपाली अमेरिकनले नगर परिक्रमा गरेका थिए ।
¥यालीपछि आयोजित कार्यक्रममा न्युयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमार र नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको उपस्थिति रहेको थियो । कार्यक्रममा विधान सभा सदस्य जेनिफरले फिप्नाका अध्यक्ष लोक चेम्जोङ र महावाणिज्यदूत गौतमलाई न्युयोर्क राज्यले पारित गरेको नेपाली अमेरिकन हेरिटेज डेको रिजोलुसन हस्तान्तरण गरेका थिए ।
जेनिफरले नेपाली अमेरिकन समुदायको सम्मान एवं पहिचानका लागि राज्य सरकारले ऐतिहासिक नेपाल डे घोषणा गरेको बताए । उनले नेपाली अमेरिकनका कला, संस्कृति एवं परम्परा रक्षाका लागि राज्य सरकार सधैँ सकारात्मक रहेको बताए ।
महावाणिज्यदूत गौतमले न्युयोर्क राज्य सरकारले गरेको घोषणाले दुई देशबीचको आपसी सम्बन्धलाई थप गाढा बनाउने भन्दै नेपाल सरकार अमेरिकासँग सहकार्य गर्न सधैँ तयार रहेको बताए । कार्यक्रममा दुवै पक्षबाट मायाको चिनो साटासाट गरिएको थियो ।
कार्यक्रममा न्युयोर्क राज्यसभाको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापालाई सम्मान गरिएको थियो । नेपाल डे घोषणाका लागि विशेष पहल गर्ने दीपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठलाई पनि राज्य सभा सदस्य जेनिफरले सम्मानपत्र प्रदान गरे ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा करिब चार लाखको हाराहारीमा नेपाली बसोवास गर्छन् । त्यसमध्ये अधिकांश नेपाली न्युयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
न्युयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु गरिएको थियो । न्युयोर्क सिटीले यसलाई मान्यता दिएको भए पनि अहिले भने राज्य सभाले नै यसलाई मान्यता दिएको छ ।