लमजुङमा भूकम्पले सात घर भत्किए, चार घाइते

लमजुङको भुलभुलेमा फेरि गयाे भूकम्प

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

लमजुङमा बुधबार बिहान गएको भूकम्पले सात घर भत्किनुका साथै चारजना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियाे ।

भूकम्पले मर्स्याङ्दी गाउँपालिकामा  क्षति पुगेको मर्स्याङ्दी  गाउँपालिका उपाध्यक्ष  होमबहादुर विकले बताए ।  उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएका छन् ।

लमजुङका डिएसपी गंगाबहादुर थापाले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेमा ४० वर्षीया उमा गुरुङ, बेंसीसहर– ११ रामचोकबेंसीकी ८३ वर्षीया खवाकुमारी पाण्डे घाइते भएका छन् । 

यस्तै मर्स्याङ्दी ६ ठूलोबेसिका गोबिन्द अधिकारी, बेसिसहर-८ ओख्लेफाटका २९ वर्षीया  खुशीमाया गुरुङ  भाग्ने क्रममा घाइते भएका छन् । घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।   

भूकम्पको  पराकम्प आउने क्रम जारी रहँदा मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । कोरोना संक्रमणको अवस्थामा घरमै सुरक्षितका साथ बस्दै आएका नागरिक भूकम्पको डरले मास्कविना बाहिर निस्कन बाध्य भएका छन् । 

फेरि भूकम्प

यस्तै लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले  केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।  लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको छ ।

See More On

सुझावित समाचार