राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलियो : यादव

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् ।  प्रधानमन्त्री केपी ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड– १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए । प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चितता र अन्याेलतातर्फ लैजाने खालका भएको दाबी गरे । 

उनले भने, ‘राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरि अझै नेपालको राजनीतिक दिशाहीनता, अनिश्चितता र अन्याेलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरूमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरू उत्पन्न भएको छ ।’

सुझावित समाचार