पातलो बस्ती भएका पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण बढेको छ । हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङमा समेत बिहीबारदेखि निषेधाज्ञा लागू गरिएको छ ।
मुस्ताङमा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । जिल्लाको थासाङ, घरपोझोङ र बारागुङ मुक्तिक्षेत्रमा निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । हालसम्म ७३ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ ।
जसमध्ये पाँचवटा जिल्लामा आंशिक मात्र लागू गरिएको छ । जसमा मुस्ताङसहित सप्तरी, धनकुटा, काभ्रेपलाञ्चोक र ताप्लेजुङ छन् । काभ्रेमा संक्रमण तीव्र भए पनि मुख्य सहर र राजमार्गका आसपासमा मात्र निषेधाज्ञा लागू गरिएको छ ।
सक्रिय संक्रमितको संख्या न्यून भएकाले चार जिल्लामा भने निषेधाज्ञा लागू गरिएको छैन । जसमा तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व छन् ।