गठबन्धन अनिश्चित
बालकृष्ण खाण, कांग्रेस नेता : पार्टी निर्णयअनुसार जसपा र एमालेकै साथीहरूसँग छलफल गरिरहेका छौँ । लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेका शक्तिहरूसँग सहकार्यको सम्भावना कायम नै छ । तोकिएको समयसीमाभित्र ठोस निष्कर्षमा पुगिन्छ ।
युवराज ज्ञवाली, एमाले नेता : हाम्रो आन्तरिक छलफलमा अब ओली पार्टी एकताको पक्षमा छैनन् भन्ने निष्कर्ष निस्किएको छ । हाललाई सांसद पदबाट राजीनामा दिने विषयमा निर्णय गर्ने जिम्मेवारी प्रतिनिधिसभामा रहनुभएका स्थायी कमिटीका साथीहरूलाई दिइएको छ । उहाँहरूले परिस्थिति हेरेर अन्तिम समयसम्म निर्णय लिनुहुन्छ । राजीनामाको सम्भावना छ ।
महम्मद इस्तियाक राई, जसपा नेता : पार्टीको विधानमा वरीयताका हिसाबले सबैभन्दा सिनियर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई हुनुहुन्छ । त्यसबाहेक तल दुईजना अध्यक्षको व्यवस्था छ, तर वरीयता तोकिएको छैन । त्यसैले संघीय परिषद् अध्यक्ष, अर्को अध्यक्ष र बहुमत पक्षले गरेको निर्णय नै आधिकारिक निर्णय हुन्छ । राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार अगाडि बढ्छौँ ।

नयाँ सरकार गठनका लागि निर्णायक मानिएका जनता समाजवादी पार्टी (जसपा) र एमालेको झलनाथ खनाल तथा माधव नेपाल पक्षले ठोस निर्णय नदिँदा सरकार गठनबारे अन्योल कायमै छ । प्रधानमन्त्री केपी ओली २७ वैशाखमा संसद्बाट विश्वासको मत लिन असफल भएर पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ ।
प्रधानमन्त्रीको दाबीसहित गठबन्धन सरकार गठन गर्न प्रयासरत कांग्रेसले सिंगो जसपालाई गठबन्धनमा सामेल गराउने र झलनाथ–माधव पक्षसँग सहकार्य गर्ने प्रयास गरे पनि दुवै पक्षबाट ठोस जवाफ नआउँदा बुधबार साँझसम्म कुनै परिणाम निकाल्न सकेन । कांग्रेसले गठबन्धन सरकारमा सहमति जुटाउन प्रयास जारी राखेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नयाँ सरकार गठनका लागि पहल भइरहेको र कुनै पनि सम्भावनाको अन्त्य भइनसकेको बताए । ‘पार्टी निर्णयअनुसार जसपा र एमालेकै साथीहरूसँग छलफल गरिरहेका छौँ । लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेका शक्तिहरूसँग सहकार्यको सम्भावना कायम नै छ । सरकार पूर्ण रूपमा असफल भइहेको र लोकतन्त्र जोगाउने महत्वपूर्ण अवसर पनि भएकाले सबैको साथ रहने अपेक्षा गरेका छौँ । तोकिएको समयसीमाभित्र ठोस निष्कर्षमा पुगिन्छ,’ उनले भने ।
उनले राष्ट्रपतिले तोकेको समयसीमा सकिन करिब २४ घन्टा बाँकी रहँदासम्म कुनै सहमति नभएको स्वीकार गरे । जसपा र झलनाथ–माधव पक्षले आन्तरिक ‘पोजिसन क्लियर’ नगर्दा मंगलबार बस्न नसकेर बुधबारका लागि तोकिएको सर्वदलीय बैठकसमेत कांग्रेसले राख्न सकेन ।
गठबन्धनका लागि कांग्रेसलाई माओवादी केन्द्र र जसपाकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको भने सुरुदेखि नै साथ रहँदै आएको छ । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले गठबन्धन सरकारमा सहभागी नहुने, बरु प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भनेपछि कांग्रेसलाई बहुमत पुर्याउन अप्ठ्यारो भइरहेको छ ।
गठबन्धनका बलिया सारथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष यादवले महन्थ–राजेन्द्र पक्षलाई सरकार गठनमा सहभागी गराउने जिम्मवारी देउवालाई नै दिएका छन् । तर, देउवा महन्थ–राजेन्द्र पक्षबीच बुधबार साँझसम्म प्रत्यक्ष संवाद नै हुन सकेन । यद्यपि देउवानिकट कांग्रेसका नेताहरू भने विभिन्न विकल्पसहित महन्थ–राजेन्द्रसँग छलफल गरिरहेका छन् ।
कांग्रेस नेता खाणले पनि छलफल भइरहेको र उनीहरूले सार्वजनिक रूपमा राखिरहेका मधेस आन्दोलन र नागरिकता विधेयकलगायत माग अगाडि सारिरहेको बताए । तर, उनले छलफलमा के–के भइरहेको छ भन्नेबारे खुलाउन चाहेनन् ।