अक्सिजन उद्योगमा २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सिसिएमसीको निर्देशन

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण
अक्सिजन उद्योगमा २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सिसिएमसीको निर्देशन

फाइल तस्बिर

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसीले अक्सिजन उद्योगहरूमा २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोभिड– १९ संक्रमितको संख्या बढेसँगै अधिकांश बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । सोही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गर्ने काम भएको छ । 

बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि ग्यास उद्योगहरूको अनुगमन थालिएको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सिसिएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराएका थिए । उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै नौवटा ग्यास उद्योगको अनुगमन गरी विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताए । 

अस्पतालहरूलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डर संकलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले बताए । सिसिएमसीले सबैलाई बाँचौँ र बचाऔैँ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सिसिएमसीले काठमाडौं उपत्यका र काभे्रेका उद्योगसमेतमा गरी दैनिक सात हजार दुई सय सिलिन्डर उत्पादन रहेको बताएको छ ।

तर, अक्सिजन उत्पादक संघले भने दैनिक नौ हजार सिलिन्डर उत्पादन हुने गरेको बताइसकेको छ । संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन भनिसकेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यावहारिक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरूका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ ।
 

सुझावित समाचार