कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन राष्ट्रसंघलाई आग्रह

चीन र बंगलादेशबाट स्वास्थ्य सामग्री आउँदै, सहयोगका लागि अन्तराष्ट्रिय समुदालाई पत्राचार

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड– १९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन् ।  नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीलाई शुक्रबार टेलिफोन गरेर पोखरेलले यस्तो आग्रह गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्सअन्तर्गतको खोप तथा  भेन्टिलेटर, पिपिई, अक्सिजन सिलिन्डर,  अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि उपलब्ध गराइदिन सहजीकरणका लागि आग्रह गरेका छन् ।

उनका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार पोखरेलले खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्तिका लागि आग्रह गरेका हुन् । आवासीय प्रतिनिधि साराले आफ्नोतर्फबाट सहजीकरण गर्ने आश्वासन दिएकी छिन् । 

चीनबाट प्राप्त हुने अक्सिजन सिलिन्डरको पहिलो लट लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान आरए ४२५१ आगामी साता काठमाडौंबाट हुनेछ । पाण्डेका अनुसार १० मेमा जहाज चीन गएर ११ मेमा फर्किनेछ । चीनमा अवतरण अनुमति तथा बंगलादेश र भारतसँग ओभरफ्लाईका लागि पनि प्रक्रिया अघि बढेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी मित्रराष्ट्र चीनबाट सहयोगस्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू (भेन्टिलेटर–४०, अटोमेटेड एनालाइजर– २०, डिआर मेसिन– १०, पोर्टेबल अल्ट्रासाउन्ड–२०, एनेस्थेसिया मेसिन– ३०) एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने भएको छ । चीन सरकारबाट सहायतास्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीमध्ये ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल पठाउनका लागि ९ मे, २०२१ सम्म बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने पनि मन्त्रालयले जनाएको छ । 

अमेरिकी सरकारबाट केही परिमाणमा पिपिई, एन्टिजेन टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने जानकारी प्राप्त भएको छ । एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाडाैंस्थित अमेरिकी दूतावास र वासिंटनस्थित नेपाली राजदूतावासमार्फत आवश्यक पहल भइरहेको परराष्ट्रले जनाएको छ । 

प्रधानमन्त्री कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयको सूचीबमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानाडालगायतका मुलुकबाट सहयोगस्वरूप प्राप्त गर्न पत्राचार भएको छ । एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावासमार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको छ । 

दक्षिण कोरियाबाट सहायतास्वरूप स्वास्थ्य सामग्रीहरू जिटुजी पद्वतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ । बंगलादेश सरकारबाट सहायतास्वरूप आवश्यक औषधीजन्य स्वास्थ्य सामग्रीहरू प्राप्त हुने भएको छ। यसैगरी बंगलादेशको ढाकास्थित वेक्सिम्को फार्मामार्फत रेम्डेसिभिर १० मेमा  र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स  रेम्डेसिभिर ११ मेमा नेपाललाई उपलब्ध हुने भएको छ । यसको ढुवानी नेपालले नै गर्नेछ ।  

सुझावित समाचार