देशभर होटेलका २ लाख २५ हजार कोठालाई आइसोलेसन बनाउन होटेल संघको प्रस्ताव, तर देखाएन सरकारले रुचि

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्काे गरेको छैन । 

काठमाडौं उपत्यकासहित देशभरका होटेलका कोठा अहिले रित्तै छन् । त्यसलाई उपयोग गरेर सर्वसाधारणलाई सुबिस्ता पु¥याउन सकिन्छ, तर शिलान्यासमा व्यस्त सरकारसँग विकल्पबारे सोच्ने फुर्सद छैन । 

गत वर्ष उपत्यकाभित्र र बाहिरका केही जिल्लामा होटेललाई क्वारेन्टिन बनाइएको थियो । तर, यस वर्ष सुनामीझैँ महामारी फैलिँदा पनि त्यसमा छलफलसम्म पनि भएको छैन । होटेल संघ नेपाल (हान)मा आबद्ध होटेलका काठमाडौंमा मात्रै तारे होटेलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे होटेलमा एक लाख ६० हजार कोठा छन् । 

सरकारले सामान्य मेडिकल टिम राखेर हजारौँ बिरामीलाई सहज सेवा दिन सकिने हानका प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ पत्रिकासँग बताए । ‘सरकारले यसमा रुचि नै दिएको छैन । सामान्य बिरामीलाई होटेलमा राख्न सकिन्छ । त्यसो हुँदा गम्भीर बिरामीलाई अस्पतालका बेडहरू उपलब्ध गराउन सकिन्छ,’ शाहले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले सिसिएमसीमा सबै क्षेत्रका व्यक्ति भएकाले त्यहीँबाट आवश्यकताअनुसार निर्णय लिने बताए । ‘होटेलका संरचना प्रयोग गर्न सकेमा धेरै समस्या समाधान हुन सक्छ, यो विषयमा छलफल हुन्छ,’ प्रवक्ता अधिकारीले भने । 

अघिल्लोपटक केही होटेलले विदेशबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टिनमा समेत राखेका थिए, केहीले आइसोलेसनमा समेत राखेका थिए । तर, यसपटक अवस्था गम्भीर भएकाले कोभिडका बिरामी राख्ने पहल आफैँ गर्न होटेलहरू हच्किएका छन् । 

‘क्वारेन्टिन त अहिले पनि राखिएको छ, तर कोरोना लागेका बिरामीलाई आइसोलेसनमा राख्नका लागि सरकारले पहल गर्नुपर्ने हुन्छ,’ उपाध्यक्ष शाहले भने, ‘कम्तीमा बिरामीको अवस्था हेरी होटेलमै राख्ने कि अस्पताल पठाउने भन्ने मेडिकल टिम त हुनैपर्छ ।’

त्यसैगरी, होटेलका कर्मचारीले जोखिम लिँदा जोखिम बिमा पनि आवश्यक हुने र त्यसमा पनि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष पनि केही होटेल र अस्पतालको समन्वयमा आइसोलेसन बनाइएको थियो । स्टार अस्पतालले सोल्टी होटेलमा अक्सिजन र मेडिकल टिमसमेत राखेर कोठाहरू तयार गरिएका थिए, जसको सुविधा लिनेमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसमेत थिए । 

गत वर्ष पर्यटन मन्त्रालयको सहमतिमा काठमाडौं जिल्ला प्रशासनले ५४ वटा होटेललाई क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंबाहिर चितवन, रुपन्देही र कास्कीमा क्वारेन्टिनका लागि दुई–दुई दर्जन होटेलले अनुमित पाएका थिए । 

होटेललाई आइसोलेसन बनाए गम्भीर बिरामीलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिन्छ : विनायक शाह प्रथम उपाध्यक्ष, हान
होटेललाई क्वारेन्टाइन त अहिले पनि बनाइएको छ । हामीले आइसोलेसन बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेका छौँ । तर सरकारले रुचि देखाएको छैन । गम्भीर प्रकृतिका संक्रमितहरूले अस्पतालमा बेड पाउन छाडेका छन् । यदि मेडिकल टिमसहित होटेललाई आइसोलेसन बनाएर सामान्य बिरामीलाई राख्ने हो भने गम्भीर बिरामीलाई अस्पतालका बेड उपलब्ध गराउन सकिन्छ । 

अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्न सिफारिस
कोभिडको संक्रमण दर पहिलो लहरको उच्च बिन्दुभन्दा बढी देखिएपछि कोभिड नियन्त्रण गर्न बनेको उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)ले आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान बन्द गर्न सिफारिस गरेको छ ।

केही दिनअगाडि सरकारले नेपाल भएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने कुनै निर्णय नलिए पनि नेपालसँग हवाई सेवा हुने देशले भने धमाधम बन्द गर्न थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा कोरोना बढेको भन्दै नेपालसँग हवाई सेवा भएका देशहरूले आफैँ उडान बन्द गर्न थालेको बताए । ‘आन्तरिकतर्फ हामीले नै कटौती गरिहेका थियौँ, अन्तर्राष्ट्रियमा विभिन्न मुलुकले कटौती गरिरहेका छन्,’ महानिर्देशक पोखरेलले भने ।

हङकङ र जापानले नेपालसँगको उडान बन्द गरिसकेका छन् । साउदी अरब पनि नेपालमा उडान बन्द गर्ने प्रक्रियामा छ । हाल नेपालबाट मलेसिया, कतार, दुबई, भारत, टर्कीलगायत देशमा मात्रै उडान भइरहेको छ । भारतमा उडान गर्न संसारभरबाट रोक लगाइँदा नेपाल र भारतबाट दुइतर्फी एक–एक हवाई सेवा सुचारु नै छ ।

भारतीयहरू नेपाल हुँदै सउदीतर्फ उडान गरिरहेका थिए । त्यसमा नेपालले गत सातादेखि नै कडाइ गरेको छ । हाल आन्तरिकतर्फ दैनिक ७० र अन्तर्राष्ट्रियतर्फ २० वटा मात्रै उडान/अवतरण भइरहेका छन् । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ९० र आन्तरिकतर्फ तीन सयभन्दा बढी उडान/अवतरण हुने गरेको छ ।

See More On

सुझावित समाचार