महामारीको भयावह रूप

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना भाइरस महामारीको घातक दोस्रो लहरमा भारतका करोडौँ मानिस जोखिममा परेका छन् । पछिल्ला दिन संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएपछि भारतको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने स्थिति आएको छ । फेब्रुअरीको दोस्रो साता दैनिक संक्रमित दर ११ हजार थियो, जुन अप्रिल १८ र १९ मा क्रमशः दुई लाख ७० हजार र दुई लाख ५९ हजार पुगेको थियो । 

पत्रिकाका पाना तथा सामाजिक सञ्जालका भित्ता अस्पतालका बेहालका तस्बिरले भरिएका छन् । गुजरात राज्यको एहेम्दाबादको सबैभन्दा ठूलो कोभिड अस्पतालबाहिर बिरामी बोकेको एम्बुलेन्सको लाइन लागेको तस्बिर र भिडियो धेरै सेयर भएको छ । अस्पतालभित्र भेन्टिलेटरयुक्त बेड र अक्सिजन सकिएकाले बिरामी एम्बुलेन्समै बस्नुपरेको थियो ।अघिल्लो शुक्रबार उत्तरी सहर लखनउमा ६५ वर्षीय पत्रकार विनय श्रीवास्तवले ट्विटरमा आफ्नो शरीरको अक्सिजनको तहमा गिरावट आएको सूचना सेयर गरेका थिए । ट्विटमा उनले सरकारी अधिकारीलाई ट्याग गर्दै सहयोग मागेका थिए ।

बिरामीले भरिएका अस्पताल तथा प्रयोगशालाले उनको परिवारको फोन उठाएन । श्रीवास्तवको ट्विटर ह्यान्डलबाट गरिएको अन्तिम ट्विटमा अक्सिजनको स्याचुरेसन स्तर ५२ देखिन्छ, जुन स्वस्थ मानिसको शरीरमा ९५ हुने गर्छ । श्रीवास्तवलाई कसैले सहयोग गरेन । शनिबार उनको देहान्त भयो । गुजरातको अर्को सहर भोपालका बासिन्दाले त्यहाँको मसानघाटमा यति धेरै दाहसंस्कार सन् १९८४ पछि अहिले देखेको बताइरहेका छन् ।

१९८४ मा युनियन कारबाइड कीटनाशक उद्योगको विषालु ग्यास लिक हुँदा झन्डै पाँच हजारको मृत्यु भएको थियो । समस्या अन्यत्र पनि देखिन्छ । मंगलबार बिहान ११ बजे १.८ करोड जनसंख्या रहेको राजधानी सहर दिल्लीमा ४० आइसियू बेड मात्र उपलब्ध थिए । भारतमा हालसम्म कुल संक्रमित संख्या एक करोड ७० लाखको हाराहारीमा पुगिसक्यो । एक लाख ९० हजारले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले स्वास्थ्य प्रणालीको असफलताका समाचार प्रमुख सहरबाट मात्र आइरहेका छन् ।

भारतको १.३ अर्ब जनसंख्यामध्ये ७० प्रतिशतको बसोवास रहेको ग्रामीण क्षेत्रको अवस्थामा प्रकाश परेकै छैन । ती क्षेत्रमा निकै कम हस्पिटल बेड र चिकित्सकीय स्टाफ छन् । केन्द्र सरकारले महामारी साना सहर र गाउँतर्फ फैलिन थालेको स्वीकार गरेको छ । मार्च र अप्रिलको बीचमै परिस्थिति कसरी यति धेरै बदलियो त ? भारतमा यस्तो अभूतपूर्व स्थिति आउनुमा प्रत्यक्ष रूपमा सरकारको बेवास्ता र तयारीको अभाव जिम्मेवार छ ।

फेब्रुअरीको मध्यसम्ममा संक्रमित संख्या घट्न थालेको थियो । त्यसपछि भारतीय सरकार र नीतिनिमार्ताहरूले मिडियामै आएर महामारीमाथि विजय पाएको बताउन थाले । मार्चको प्रारम्भमा उत्साही मन्त्रीहरू भारतमा महामारीको अन्त्यबारे कुरा गर्न थालेका थिए । दशौँ हजार दर्शकसहित क्रिकेट खेल आयोजना हुन थाले । फिल्म हल खुले । सरकारले हरिद्वारमा भएको विशाल कुम्भ मेलाको भेलालाई रोक्न केही गरेन । त्यस मेलामा दशौँ लाख हिन्दूहरूले गंगामा स्नान गरे । स्वाभाविक रूपमा अहिले हरिद्वारमा कोभिड–१९ संक्रमितको संख्या निकै बढेको छ । 

भारत सरकारले विगतको सफलतामा मग्न भएर महामारीको नयाँ लहरको तयारी नगर्दा देश अहिलेको विकाराल संकटमा धकेलिन पुग्यो 

एक महिनाभित्र भारतले पाँच राज्यमा विभिन्न चरणमा निर्वाचन सञ्चालन गर्यो । तीमध्ये सबैभन्दा महत्वपूर्ण निर्वाचन पश्चिम बंगालमा अयोजना भइरहेको छ । त्यहाँ मार्चको अन्तिमदेखि अप्रिलको अन्तिमसम्म आठ चरणमा निर्वाचन सञ्चालन हुँदै छ । संक्रमणको वृद्धिले पनि चुनावी सभाहरूलाई निरुत्साहित गरेन । मास्क नलगाएका दशौँ हजार मानिसको भेलामा सजिलै संक्रमण फैलिन्छ । चुनावी अभियान र कोभिड–१९ वृद्धिबीचको सम्बन्ध देखाउने यकिन तथ्यांक त उपलब्ध छैन, तर पश्चिम बंगालमा संक्रमितको संख्या दश गुणाले बढेको छ । 

भारतीय मिडियाले राजनीतिक, धार्मिक तथा खेलकुदका समाचारलाई अत्यधिक महत्व दिने गर्छन् । नियमित भेला हुने घटनाका समाचार हेर्दा माहामारी अन्त्य भइसकेको जस्तो सन्देश प्रवाह भयो । साथमा मानिसभित्रको पूर्वअवस्थामा फर्किने हतारोले पनि स्थिति खराब बनाउन सघायो । प्रदूषण र कीटाणु निरन्तर खेपिरहेकाले आफूहरूको रोग प्रतिरोधात्मक क्षमताले कोरोनालाई पनि हराउँछ भन्ने भारतीय जनतामाझ फैलिएको भ्रमले पनि महामारीलाई हल्का लिने प्रवृत्ति बढ्यो ।

 अघिल्लो वर्ष भारतमा सञ्चालन भएको विश्वकै सबैभन्दा ठूलो कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ अध्ययनमा म पनि आबद्ध थिएँ । अध्ययनले हजार संक्रमित नपुग्दै भारतले अघिल्लो वर्ष लगाएको देशव्यापी लकडाउनले भाइरसको विस्तारलाई सीमित गरेको देखाएको थियो । कोभिड–१९ बाट संक्रमित हुने दर भारतमा अन्य ठाउँकै हाराहारी छ । तर, मृत्युदर भने केही कम देखिन्छ ।

भारतको ६५ प्रतिशत जनसंख्या ३५ वर्षमुनिको हुनुले यसमा भूमिका खेलेको छ । नत्र त ४० देखि ७० वर्षको उमेरसमूहका भारतीयको मृत्युदर सोही उमेरसमूहको अमेरिकीभन्दा ७५ प्रतिशत बढी छ । यो उमेरसमूहका भारतीयमा उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या बढी हुने भएकाले कोरोनाले धेरै थला पार्छ । कोभिड–१९ को पहिलो लहरले विपन्न सहरी क्षेत्रलाई बढी प्रभावित बनाएको थियो । त्यहाँबाट संक्रमण ग्रामीण जनसंख्या केन्द्रतर्फ फैलियो । दोस्रो लहरबाट संक्रमित हुनेको सामाजिक आर्थिक हैसियतबारे अहिले नै तथ्यांक उपलब्ध भएको त छैन, तर समाचार हेर्दा यसपटक मध्यम वर्ग पनि प्रभावित भएको जस्तो देखिन्छ । 

भारतको खोप अभियानले खोपको अभावका कारण कठिनाइ भोगिरहेको छ । मंगलबारसम्म कोभिड–१९ विरुद्धको खोप पूर्ण लगाउने जनसंख्या १.३ प्रतिशत मात्र पुगेको छ । खोपको अभावका कारण अधिकांश स्थानको खोप अभियान प्रभावित भएको छ भने केही राज्यमा त अभियान पूर्ण रूपमा अवरुद्ध भएको छ । अहिलेको दरमा सन् २०२२ को अन्त्यमा मात्र हर्ड इम्युनिटीलाई आवश्यक ७० प्रतिशत भारतीयलाई खोप लगाउन सम्भव हुन्छ । भारतले दैनिक १.२ करोड डोज खोप निर्माण गर्ने क्षमता वृद्धि ग¥यो भने मात्र ६ महिनाभित्रै ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन सकिनेछ । 

के भारत वर्तमान स्थितिबाट बाहिरिन सक्छ ? : अर्थतन्त्रमाथि भारी क्षति पुग्ने भएकाले विगतमा जस्तो राष्ट्रव्यापी लकडाउन उचित हुँदैन । स्थानीयस्तरको वा राज्यस्तरको लकडाउन लगाउन सकिन्छ । सरकारले रोगको गम्भीरताबारे निरन्तर सन्देश प्रवाहित गर्नु आवश्यक छ । सम्पूर्ण भेलाहरूलाई प्रतिबन्ध लगाएर मास्कको प्रयोगलाई अनिवार्य बनाउनुपर्छ । सचेतना र विज्ञानमा आधारित मार्गविना भारतले वर्षदिनअघिको राष्ट्रव्यापी लकडाउनबाट हासिल उपलब्धि गुमाउनेछ । 

(लक्षीनारायण अर्थशास्त्री र महामारीविद् हुन् । उनी वासिङ्टनस्थित ‘सेन्टर फर डिजिज डाइनेमिक्स, इकोनोमी एन्ड पोलिसी’का निर्देशक तथा प्रिन्स्टन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानविज्ञ हुन्) 

सुझावित समाचार