नेपालमा युके भेरियन्ट संक्रमित बढेको आशंका, रात्रिकालीन व्यवसाय बन्द

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको उल्लंघन तथा युके भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सूचना जारी गरेको हो । 

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण हुने दर बढेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशमा कोरोना संक्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय केस देखिएमा त्यस्ता स्थानमा आवागमनलाई पनि कडाइ गर्ने निर्णय मन्त्रालयले गरेको छ । त्यस्तै, अधिक भिडभाड हुने सपिङमल, क्लब, स्विमिङ पुल, मन्दिर, सिनेमा हल, पार्टी प्यालेसलगायत क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ । संक्रमणको बढी जोखिम भएका क्षेत्रहरूमा परीक्षण बढाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय–रेस्टुरेन्ट राति ९ बजेपछि पूर्ण रूपमा बन्द गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ‘जनस्वास्थ्यका मापदण्डको उल्लंघन र युके भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्नुपर्ने वेला आएको छ । यसलाई कम गराउन रात्रिकालीन व्यवसाय–रेस्टुरेन्ट राति ९ बजेबाट पूर्ण रूपमा कडाइका साथ बन्द गराउनुपर्छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म १६ जनामा युके भेरियन्ट पुष्टि भएको छ । उनीहरूले समुदायमा संक्रमण सारेका छन् । गत २७ पुसमा कोभिड परीक्षणमा एस जिन नेगेटिभ आएकाले नयाँ भाइरस पत्ता लगाउन तीनवटा नमुना हङकङ पठाइएको थियो । उनीहरूलाई युके भेरिएन्ट पुष्टि भएकाले थप १३ जनाको नमुना पठाउँदा पनि सोही रिपोर्ट आएको थियो ।

कोरोना परीक्षण गर्दा एस जिन नेगेटिभ देखिएमा सरकारले युके भेरियन्टको आशंका गर्दै आएको छ । ‘हालै भारतबाट आएकाका पछिल्ला नमुनाको प्रजाति पत्ता लगाउन १५ वटा नमुना विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएको छ । तर, रिपोर्ट आइसकेको छैन,’ केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन् । 

केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो ।

त्रिनगर नाकाबाट नेपाल प्रवेश गर्नेमा संक्रमण उच्च
भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले ८ चैतदेखि मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । संक्रमण कम भएसँगै निष्क्रियझैँ भएका हेल्थ डेस्कहरू पुनः सक्रिय भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपाल–भारतका ६ नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । तीमध्ये अधिकांश संक्रमण कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा देखिएको छ ।

त्रिनगर हेल्थ डेस्कमा पाँच हजार दुई सय ६५ नमुना परीक्षण गर्दा दुई सय ३० जनामा कोरोना पुष्टि भएको छ । रूपन्देहीको बेलहैया हेल्थ डेस्कमा ३७ नमुना परीक्षण भएकोमा एकजना पजिटिभ देखिएको छ । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा नौ सय ३८ नमुना परीक्षण भएको छ । परीक्षणका क्रममा नौजनामा पजिटिभ देखिएको छ । इनरुवा हेल्थ डेस्क पर्सामा ६४ जनाको नमुना परीक्षण गर्दा दुईजनामा कोरोना देखिएको छ । जमुनाहा हेल्थ डेस्क बाँकेमा ८५ नमुना परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको छ । कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा ५३ जनाको नमुना परीक्षण गर्दा एकजनामा पनि कोरोना पुष्टि भएको छैन ।

बुधबार थपिए तीन सय ३९ जना संक्रमित, दुईको मृत्यु
बुधबार देशभर तीन सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई सय ९८ र एन्टिजिन परीक्षणमा ४१ गरी तीन सय ३९ जनामा कोरोना पजिटिभ देखिएको हो । यो १४ चैतयताकै सर्वाधिक संक्रमित संख्या हो । चार हजार एक सय नमुना परीक्षण गर्दा ७४ जना निको भएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा मात्रै एक सय ३२ जना पुष्टि भएका छन् । 

हाल देशभर २२ सय एकजना एक्टिभ संक्रमित उपचाररत छन् । गत १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ परीक्षण गर्दा दुई सय १३ मा संक्रमण देखिएको थियो ।

२३ चैतमा चार हजार पाँच सय ३६ नमुना परीक्षण हुँदा दुई सय ६६ संक्रमित भएका थिए । चिकित्सकहरूका अनुसार भारतमा युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतीय भेरियन्ट देखिएको छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरियन्ट पुष्टि भएको थियो । स्वास्थ्य अधिकारीहरूका अनुसार हाल नेपालमा एक सय ५० भन्दा बढी एसजिन नभेटिएका शंकास्पद नयाँ प्रजातिका भाइरसहरू देखिएका छन् । 

सुझावित समाचार