अन्तरदेशीय विद्युत् व्यापारका लागि चाँडै कार्यविधि जारी गर्न निजी क्षेत्रको माग

मंगलबार, २४ चैत, २०७७
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूले अन्तरदेशीय विद्युत् व्यापारका लागि तत्काल कार्यविधि जारी गर्न सरकारसँग माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको ऊर्जा विकाससम्बन्धी कार्यक्रममा भारतले विद्युत् व्यापारका लागि अन्तरदेशीय कार्यविधि जारी गरिसकेको अवस्थामा नेपालले ढिलाइ गर्न नहुने ऊर्जा उत्पादकहरूले बताएका हुन् । 

यसबाहेक विद्युत् व्यापारको अल्पकालीन बजारका लागि नेपाल विद्युत् प्राधिकरणसँगै निजी क्षेत्रलाई पनि अनुमति दिनुपर्ने इप्पानका उपाध्यक्ष आशिष गर्गले बताए । ‘अहिले भारतले जारी गरेको कार्यविधिले नेपालमा उत्पादित विद्युत्को पहुँचलाई स्वतन्त्र छोडेकाले पनि नेपाली पक्ष अब तात्नुपर्छ,’ उनले भने । त्यस्तै, दीर्घकालीन रूपमा भने निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा विद्युत् खरिद सम्झौता भारत र बंगलादेशलगायतका देशसँग गर्न पाउनुपर्ने माग छ । ती देशमा हरित ऊर्जा ठूलो परिमाणमा आवश्यक छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले कार्यविधि तयारीका लागि मन्त्रालयका सहसचिव मधु भेटुवालको संयोजकत्वमा समिति गठन गरिसकेको बताए । ‘चाँडै कार्यविधिको मस्यौदा तयारी भई जारी गरिनेछ,’ उनले भने । सचिव घिमिरेले विद्युत् उत्पादनमा सुधार हुँदै गए पनि खपत गर्ने योजनामा भने पछि परेको बताए । ‘प्रधानमन्त्री केपी ओलीले पनि उत्पादन भएको विद्युत् खपत गर्ने योजना ल्याउन ऊर्जा मन्त्रालयलाई निरन्तर निर्देशन दिइरहनुभएको छ,’ उनले भने । त्यस्तै, देशभित्र पनि प्रसारण लाइन निर्माणमा पछि पर्दा उत्पादित विद्युत् खेर जाने गरेको उनले स्विकारे । अब राज्यले नै लगानी वृद्धि गरेर भए पनि प्रसारण लाइन निर्माणलाई अघि बढाउनुको विकल्प नभएको सचिव घिमिरेको भनाइ छ । 

सरकारको संलग्नता अब जलाशययुक्त आयोजनामा मात्र हुने गरी अघि बढ्ने तयारी भइरहेको छ । ‘नदी प्रवाही आयोजनामा अब निजी क्षेत्र नै सक्षम भइसकेकाले त्यसलाई नियमन गर्ने भूमिका मात्र राज्यले खोल्नुपर्छ,’ उनले भने । त्यस्तै, प्रसारण लाइन निर्माण र वितरणको जिम्मा भने राज्यले नै लिनेछ । विद्युत्लाई निर्यात गर्नेभन्दा पनि देशभित्र नै खपत वृद्धि गर्ने विषय महत्वपूर्ण छ । त्यसका लागि खपत योजनाको तयारी भइरहेको र उपभोक्तालाई खपत वृद्धि गर्ने गरी प्रोत्साहन गर्ने योजनामा रहेको सचिवले जानकारी दिए । ‘त्यो विषय आगामी बजेटमा समेत समावेश गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने । 

कार्यक्रममा ऊर्जा उत्पादक गुरुप्रसाद न्यौपानेले जलविद्युत्का समस्याहरू प्रस्तुत गरेका थिए । उनले जलविद्युत् आयोजनहरूको विद्युत् खरिद सम्झौता रोकिएको, आयोजनाहरूको निर्माणमा निजी क्षेत्रले लगानी गर्ने वातावरण नबनेको, प्रसारण लाइन समयमा नबन्दा समस्या आएको, विद्युत् विधेयक संसद्मै रोकिँदा समस्या भएको बताए । इप्पानले भने संसद्मा विचाराधीन विद्युत् विधेयक ऊर्जा व्यापारसम्बन्धी प्रावधानसहित पारित गर्न सुझाब दिएको छ ।

त्यस्तै, नेपाल पावर एक्सचेन्ज कम्पनीलाई ऊर्जा व्यापारका लागि आवश्यक स्वीकृति दिन माग गरेको छ । ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको समेत त्रिदेशीय संयन्त्र बनाउने, आन्तरिक खपत वृद्धि गर्न इन्डक्सन चुलो र विद्युतीय सवारीसाधनमा सहुलियतको व्यवस्था गर्नुपर्ने, नेपाली उद्योग तथा कारखानालाई सहुलियत दिने विषयलाई पनि प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।

See More On

सुझावित समाचार