काठमाडौं–तराई द्रुतमार्गको ‘अनियमितता’ अध्ययन गर्न संसदीय उपसमिति गठन

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले द्रुतमार्ग निर्माणको दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताबारे अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । 

उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहेका छन् । उपसमितिलाई दोस्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुंगमती खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमी–कमजोरी र समयमै निर्माण सम्पन्न हुने–नहुनेबारे सूक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ । उपसमितिलाई दुई महिनाको समय दिइएको छ । 

काठमाडौं–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको सेनाले निर्माण प्रक्रियाको दोस्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरी परेपछि समितिले चासो देखाएको हो ।

छलफलका क्रममा सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गरे । उनले दुई वर्षपछि पनि पुरानै दररेटमा निर्माण सम्झौता भएको र ज्वाइन्टभेन्चरमा नेपाली कम्पनीहरू पनि सहभागी भएको बताए । 

छलफलका क्रममा सांसदहरूले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने बताएका थिए ।

सुझावित समाचार