अपराधको सर्जक अर्थात् सामाजिक सञ्जाल

मंगलबार, ११ फागुन, २०७७
डिजिटल संस्करण

अपराधको सुरुवात सामाजिक सञ्जालबाट हुनेछ भन्ने ज्ञान फुरेको भए मार्क जुकरबर्गले १७ वर्षअघि नै फेसबुक आविष्कारलाई सधैँका लागि ‘प्याकअप’ गर्ने थिए होलान् । हुन पनि अहिले जसरी सामाजिक सञ्जालसँग नजोडिएका मान्छे भेटाउन मुस्किल छ, त्यसैगरी विरलै भेटिएका छन्, त्यस्ता अपराध, जसको जरो सामाजिक सञ्जालसँग नजोडिएको होस् । नेपाल प्रहरीको तथ्यांकले समेत यसलाई पुष्टि गरेको छ । तथ्यांक भन्छ, ‘संगठित अपराध मात्र होइन, पछिल्ला दिनका भवितव्य ज्यानसम्बन्धी अपराधमा समेत कहीँ न कतै सामाजिक सञ्जाल जोडिएका छन् ।’

सामाजिक सञ्जालको पासोमा जसरी युवा फसेका छन्, त्योभन्दा कैयौँ गुणा खतरनाक ढंगले १८ वर्षभन्दा कम उमेरका बालबालिका फसेका छन् । एउटा डरलाग्दो उदाहरण यहाँ राख्न उचित होला । कक्षा सातमा अध्ययनरत थिइन्, काठमाडौंकी ११ वर्षीया बालिका । फेसबुकमा भर्खर अकाउन्ट खोलेकी उनको एक अपरिचितसँग कुराकानी चल्छ । मीठा गफको धुनमा नजान्दा–नजान्दै अपरिचितसँग प्रेम बस्छ ।

दुईबीच अन्तरंग कुराकानी हुन थाल्छ । अपरिचितले ती बालिकासँग नग्न फोटोको अफर गर्छन् । बालिका अर्धनग्न फोटो अपरिचितलाई पठाउन संकोच मान्दिनन् । आफूले ‘प्रेम’ गरेका अपरिचितलाई पठाएको अर्धनग्न फोटो सामाजिक सञ्जालमै भाइरल भएपछि बालिका बल्ल झल्याँस्स हुन्छिन्, झांगिँदै गएको प्रेममा पनि तुषारापात हुन्छ । यसपछि अपरिचितसँग टाढै रहेकी बालिका कक्षा १० पुग्दा फेरि अर्को अपरिचितसँग मोहित हुन्छिन् ।

अन्तरंग कुराकानीसँगै बालिकाले यसचोटि भने नग्न भिडियो इन्स्टाग्राममार्फत पठाउँछिन् । अपरिचितको अकाउन्ट अचानक बन्द हुन्छ । सोधीखोजी गर्दै थिइन्, उनको भिडियो पोर्न साइटमा अपलोड भइसकेको हुन्छ । प्रहरीसँग सहकार्य र सहयोगबाट उनको भिडियो पोर्न साइटबाट त हटाइएको छ, तर उनको कलिलो दिमागमा गढेर बसेको त्रास हटाउन अझै सकिएको छैन । 

कथाझैँ लाग्ने तीन वर्षअघिको यो घटना अहिले प्रत्येक दिनजसो दोहोरिइरहेका छन् । र, यसबाट सबैभन्दा बेसी बालबालिका पीडित छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका तथ्यांक विश्लेषण गर्दा ६ महिनाको अवधिमै मुलुकभर १८ वर्षभन्दा मुनिका ७१ बालबालिका यस्ता अपराधका सिकार बनेका छन् । यसमा बालिकाको संख्या ५२ छ भने बालक १९ जना छन् ।

हामीले निर्बाध मोबाइल प्लस इन्टरनेटको प्रयोग गर्न दिएका कारण हाम्रा बालबालिकालाई अपराधीको चंगुलमा त पुर्याएको छ नै, स्वाभाविक तवरले विकास हुने उनीहरूको मानसिक, तार्किक एवं बौद्धिक विकासमा समेत गम्भीर क्षति पुर्याइरहेका छौँ । यसतर्फ अभिभावकको ध्यान रत्तिभर पुगेको छैन ।

मीठा गफ गरेर फकाउने र फोटोको दुरुपयोग गर्ने मात्र होइन, विदेशमा लगेर बेचबिखन नै गर्नेसम्मको अपराध पनि सामाजिक सञ्जालबाटै सम्भव भएका छन् । एउटा डरलाग्दो उदाहरण यहाँ राख्दा ठीकै होला । बन्दाबन्दीको कारण विद्यालय बन्द थियो, १३ वर्षकी बालिका अनलाइन क्लासमा रमाउँदै थिइन् । उनको ध्यान फेसबुकतर्फ मोडियो ।

फेसबुकमा फोटो अपलोड गर्न थालिन् । लाइक, सेयर तथा भ्युज बढ्न थालेपछि उनमा उत्साह बढ्दै गयो । लगातार एक अपरिचितले फलो गरिरहेको भेउ उनले त्यतिवेला पाइन्, जब अपरिचितले उनलाई कमेन्टका साथै सन्देश पठाउन थाले । अब अपरिचितस“ग कुराकानी हुन थाल्यो । फोटो मन परेको प्रतिक्रियाबाट बालिका दंग थिइन् । 

दुईबीच कुराकानी चल्दै थियो । यही क्रममा अपरिचितले बालिकाको आमाबुबाको फोटो उनलाई सेयर गरी ‘भनेको नमाने तिम्रा आमाबुबालाई मारिदिने’ धम्की दिन थाल्यो । बालिकाको होसहवास उड्यो । केही दिन चुपचाप रहिन् । तर, अपरिचितले बालिकालाई तारन्तार सन्देश पठाइ नै रहे ।

अन्ततः अपरिचितले भनेको मान्न बालिकाले सहमति जनाइन् । अपरिचितले बालिकालाई नेपाल–भारतको सीमामा बोलायो, फोन स्विच अफ गर्न लगायो । अपरिचितले भनेकै ठाउँमा उनी पुगिन् पनि । बुबाआमास“ग अन्तिम बिदा माग्न बालिकाले फोन खोलेपछि पछ्याउँदै गएको प्रहरीले अपरिचितलाई पक्राउ गर्यो । 

प्रहरीले अनुसन्धान गर्दा अपरिचितले बालिकालाई भारतमा बेच्न लगेको रहस्य खुल्यो । आङै सिरिंङ हुने अपराधका यी शृंखला व्यस्त सहरको सम्भ्रान्त परिवारभित्रको मात्रै एउटा कोठाबाट सुरु भएका छन्, जहाँ मोबाइलको पहुँच छ र इन्टरनेट पनि छ ।

हामीले निर्बाध मोबाइल प्लस इन्टरनेटको प्रयोग गर्न दिएका कारण हाम्रा बालबालिकालाई अपराधीको चंगुलमा त पुर्याएको छ नै, स्वाभाविक तवरले विकास हुने उनीहरूको मानसिक, तार्किक एवं बौद्धिक विकासमा समेत गम्भीर क्षति पुर्याइरहेका छौँ । यसतर्फ अभिभावकको ध्यान रत्तिभर पुगेको छैन, न उनीहरूलाई हात समातेर गाइड गर्ने शिक्षकको ध्यान जान सकेको छ । यसले भावी दिनमा मुलुकले कुन स्तरको क्षति बेहोर्नुपर्ने हो, लेखाजोखा नै गर्न सक्ने अवस्था छैन । 
भक्तपुरको ठिमीमा यस्तै एउटा डरलाग्दो अपराध भयो । भोजपुरकी १५ वर्षीया किशोरीको फेसबुकमार्फत नै २१ वर्षीय युवास“ग प्रेम बस्यो । उनीहरू च्याटमा घन्टौँ गफिन थाले । पछि दुईबीच भिडियो च्याट हुन थाल्यो । च्याटमा तस्बिर र भिडियो आदानप्रदान भए । विद्यालय पढ्ने किशोरीलाई युवकले विवाह गर्ने प्रस्ताव गरे ।

प्रेममा फसेकी किशोरी युवकको प्रस्ताव मान्न सजिलै राजी भइन् । विद्यालय छाडेर किशोरी युवकसँग भागिन् । रंगीन सपना देखाएर युवकले किशोरीलाई भक्तपुरस्थित ठिमी ल्यायो । एउटा गेस्टहाउसको कोठा बुक गर्यो । किशोरीलाई कोठामा बन्धक बनायो, त्यो पनि दुई–पाँच दिनका लागि होइन, पूरा १० महिना ।

युवकले किशोरीको यौन शोषण मात्रै गरेन, यातना पनि दिइरह्यो । बाहिर निस्किए ज्यान मार्ने धम्की दिएर कोठामै कैद गरिराख्यो । सबै पीडा सहेकी किशोरीले १० महिनापछि युवक नभएको वेला पारेर गुहार मागिन् । घटनास्थलमा प्रहरी पुगेपछि किशोरीको उद्धार सम्भव भयो । नत्र, आफू जीवितै रहने कुरामा उनैलाई विश्वास छैन । 

सामाजिक सञ्जालबाटै सुरु भएका जघन्य अपराधका यी फेहरिस्त कारुणिक मात्र होइन, दर्दनाक छन् । यसमा संलग्न अभियुक्त–अपराधी त दोषी छन् नै, अभिभावक, शिक्षक पनि दोषमुक्त छैनन् । बालबालिकालाई बुझ्नु न सुझ्नु स्मार्ट मोबाइल र इन्टरनेटको सुविधा दिने अभिभावकले यस्ता अपराधलाई निम्त्याउन सघाएका हुन्, चुपचाप स्वीकार गर्ने शिक्षक मतियार भएका छन् । बालबालिकाको सिकाइको पहिलो पाठशाला घर/परिवार नै हो, त्यसपछि विद्यालय ।

परिवारमा बालबालिकालाई नैतिकताका साथै व्यावहारिक ज्ञान सिक्न उत्प्रेरित गर्ने हामी चोटाकोठामा भित्रिएको मोबाइल र इन्टरनेट प्रयोगको उचित तरिका, यसको फाइदा–बेफाइदाबारे सिकाउँदैनौँ । बरु टिकटकमा भिडियो बनाएर भाइरल बन्नेतर्फ अग्रसर हुन्छन् ।

भाइरल बन्ने ‘दर्जन उपाय’ बालबालिकालाई पनि सिकाउँछौँ । फेसबुकमा फोटो राखेर लाइक, कमेन्ट, भ्युज बढाउने अझ भाइरल हुने तरिका सिकाउन उद्यत छौँ । यसले अबोध दिमागमा पार्ने दीर्घकालीन क्षतिको मूल्यांकन पनि गरेका छौँ त ? उत्तर सहज छ, केही पनि विचार गरिएको छैन । 

कानुनतः अभिभावकले नै आफ्ना बालबालिकामाथि अपराध गरिरहेका छन् । अबोधपनको फाइदा उठाएर क्षणभरको खुसी बटुल्न उद्धत छन् । यो कानुनी र नैतिक दुवै पक्षबाट जायज छैन । हाम्रा कानुनका दफाहरूमा प्रस्ट उल्लेख छ, तस्बिर वा भिडियो खिच्नुअघि सम्बन्धित व्यक्तिको स्वीकृति लिनुपर्छ ।

भाइरल बन्ने ‘दर्जन उपाय’ बालबालिकालाई पनि सिकाउँछौँ । फेसबुकमा फोटो राखेर लाइक, कमेन्ट, भ्युज बढाउने, अझ भाइरल हुने तरिका सिकाउन उद्यत छौँ । यसले अबोध दिमागमा पार्ने दीर्घकालीन क्षतिको मूल्यांकन गरेका छौँ त ? उत्तर सहज छ, केही पनि विचार गरिएको छैन । 

भिडियो भाइरल बनाइरहँदा ती ‘भाइरलसिकर’ अभिभावकले आफ्ना अबोध बालबालिकाको स्वीकृति कसरी लिए होलान् ? यसको पनि उत्तर सहज छ, लिइएकै छैन । त्यसो हो भने अभिभावक कानुनको नजरमा दोषी हुन् । स्वीकृतिबेगर आफ्ना अबोध बालबालिकाको फोटो खिचे वा भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएबापत ती दण्डित हुनुपर्छ । 

आधुनिकता भित्र्याउने नाममा कतिपय विद्यालयले विद्यार्थीलाई अत्याधुनिक ग्याजेट चलाउने अनुमति दिन्छन् । ग्याजेटबाटै ‘प्रोजेक्ट वर्क’ पेस गर्न सिकाउँछन् । तर, प्रविधिको अन्धाधुन्द प्रयोगले विद्यार्थीको सिकाइमा पर्ने असरबारे कहिल्यै मूल्यांकन गरिँदैन । विद्यालयमा पुतलीको जीवनचक्रको उदाहरण दिन फिल्ड लगिन्न, न चित्र कोरेर यसका सचित्र ज्ञान नै विद्यार्थीमा बाँडिन्छ ।

सहज विधि छ– गुगल गर्ने र पुतलीको जीवनचक्र त्यसैमा हेर्ने, देखाउने । यस्तो ज्ञानले विद्यार्थीको सिकाइ क्षमतामा कस्तो असर गर्ला ? ‘दूध केबाट आउँछ ?’ भन्ने प्रश्न गर्दा ‘डेरीबाट आउँछ’ भनेर जवाफ दिने विद्यार्थी उत्पादन गर्न उद्यत छन्, हाम्रा अधिकांश विद्यालय । यस्ता उत्पादनले हामी कहाँ पुग्छौँ ? बालबालिकाको मनोविज्ञान र मनोविकासमा यसले कस्तो असर गर्ला ? सम्झिँदा पनि दिमाग चक्कराउँछ । 

आधुनिकतासँगै आएको इन्टरनेट । त्यसैका उपज हुन्, त्यसभित्रका सामाजिक सञ्जाल । यी उत्पादनलाई प्रयोग गर्नै बन्देज लगाइनुपर्छ भन्ने कदापि होइन । प्रयोग गर्नुपर्छ । तर, यसका लागि अपनाउने र प्रयोग गर्ने तरिका जान्नु आवश्यक छ । त्यसो हो भने कक्षा १० होइन, १२ कक्षासम्मकै विद्यार्थीका लागि सेल्फ मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँदा कसो होला ? फेसबुकलगायतका सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने उमेरसमूह निर्धारण गरिँदा कसो होला ?

इन्टरनेटमा प्राप्त सामग्री बालबालिकाको पहुँचभन्दा बाहिर गरिँदा ठीक होला ? यति गर्दा के बाल स्वतन्त्रता हनन होला त ? यति गर्न नसके पनि आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के गतिविधि गरिरहेका छन् भन्ने अवलोकन गर्ने जिम्मा त अभिभावकले पूरा गर्नुपर्यो नि ।

विद्यालय तहमै चलाउन हुने र नहुने सामाजिक सञ्जालको बारेमा विद्यार्थीलाई सचेत गराउनु शिक्षकको अभिभारा हुन्छ । सामाजिक सञ्जालबाट हुन सक्ने अपराध र त्यसबाट हुन सक्ने क्षतिबारे जानकारी गराउनु समाजको दायित्व हो । यति गर्न कुनै अभिभावकले कसैको स्वीकृति लिनुपर्दैन । 
(कुँवर मनोविद् हुन्) 

सुझावित समाचार