पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा गत ९ पुसमा २६ वर्षीया दुर्गा उभरकोटीको हत्या भयो । श्रीमान्ले नै उनको हत्या गरेको प्रहरी निष्कर्ष छ । हत्या हुनुमा घरायसी विवादलाई नै प्रमुख कारण मानिएको छ । राति उनीहरू सुत्ने कोठामा होहल्ला भएपछि उठेर हेर्दा बच्चाहरू रोइरहेको भेटिएको परिवारले प्रहरीलाई बताएका थिए । सुत्ने कोठामै दुर्गा मृत अवस्थामा फेला परेपछि परिवारका सदस्यले छिमेकी र प्रहरीलाई खबर गरेका थिए ।
केही समयअघिदेखि अत्यधिक मादक पदार्थ सेवन गर्न थालेका धनबहादुरको श्रीमतीसँग यसअघि पनि झगडा हुँदै आएको थियो । हत्यापछि धनबहादुर फरार भए । उनलाई प्रहरीले खोजी गरिरहेको थियो । हत्या अभियोग लागेका धनबहादुर दुई सातापछि मृत अवस्थामा भेटिए । घरदेखि तीन किलोमिटर पूर्वमा रहेको पात्ले जंगलमा प्लास्टिक डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उपभरकोटीको शव फेला प¥यो ।
पाँचथर प्रहरी प्रमुख दानबहादुर थापाका अनुसार श्रीमतीको हत्यापछि फरार रहेका धनबहादुरले आत्महत्या गरेका हुन् । ‘अनुसन्धानलाई आधार मान्ने हो भने दुर्गाको हत्या श्रीमान्बाट भएको देखिन्छ,’ उनले भने, ‘यो घटना आवेशप्रेरित भएको पुष्टि हुन्छ । घटनापछि उनले आफैँ आत्महत्या गरेको देखिन्छ ।’
उभरकोटी परिवारको घटनालाई प्रहरीले मदिराको कारण मुख्य मानेको छ । सुरुमा आर्थिक रूपमा पनि सवल परिवारमा जब मदिराको प्रयोग बढ्दै गयो, त्यसले पारिवारिक कलह थप्दै गयो, समस्या थपिँदै गएपछि हत्यासम्मको अवस्थामा पुगेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
घरायसी विवादका कारण श्रीमतीलाई बन्चरो प्रहार गरेका धनबहादुर आफू पनि रहेनन् । मदिरा सेवन गरेर दैनिकजसो झगडा हुने गरेको स्थानीयले बताए । हटना हुनु एक–दुई दिनअघि मात्रै उनीहरू परिवारभन्दा छुट्टै बस्न थालेका थिए । स्थानीय वीरबहादुर उभरकोटीले भने–आर्थिक अवस्था साधारण नै हो । सामान्य विवादमा पनि दुवैले ज्यान गुमाएपछि उभरकोटी परिवार विखण्डन भएको छ ।
परिवारकै सदस्यबाट नौजनाको हत्या
पाँचथरमा घरायसी विवादका कारण हत्यासम्मका घटना हुने क्रम रोकिएको छैन । दुई वर्षअघि पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा परिवारकै सदस्यबाट नौजनाको हत्या भयो । हत्यापछि ज्वाइँ आफैँ झुन्डिएको अवस्थामा फेला परे । प्रहरीको अनुसन्धानले घरायसी विवादका कारण नै घटना भएको निष्कर्ष निकाल्यो ।
अत्यधिक मादक पदार्थ सेवन, आर्थिक अवस्थामा आउने समस्या, आम्दानीको भरपर्दो स्रोत नहुनुलगायतका कारणले परिवारमा बेमेल बढेको मानव अधिकारकर्मीहरू बताउँछन् । परिवारमा आउने सामान्य समस्या तत्कालै समाधान नहुने कारण पनि सोही क्रम बढ्दै जाँदा हत्यासम्म पुग्ने गरेको अधिकारकर्मी मंगल बेघाले बताए । व्यवहारमा सामान्य समस्या आउने, तर तत्काल समाधान नहुँदा त्यसले हत्यासम्मको अवस्थामा पु¥याउने गरेका उदाहरण छन् । ‘यो परिवार व्यवस्थापनसँग जोडिन्छ,’ अधिकारकर्मी बेघाले भने, ‘सामान्य विवादलाई तत्कालै समाधान नगरिँदा जघन्य अपराधमा परिणत हुने गरेका छन् ।’ जिल्लामा यस्ता घटना कम गर्न मनोसामाजिक परामर्शसहितका कार्यक्रम बढाउनुपर्ने उनको सुझाब छ ।
यस्तो छ तीन वर्षको तथ्यांक
पाँचथरमा गत चार वर्षमा २३ जनाको हत्या भयो । हत्यामा संलग्नले पनि आफैँ आत्महत्या गरेका धेरै छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार आर्थिक वर्ष २०७४-७५ मा पाँच घटना प्रहरीमा दर्ता भए । ती घटनामा पाँचजनाको हत्या भएको थियो । आव २०७५-७६ मा ६ वटा दर्ता भएका छन् । ती घटनामा १३ जनाले ज्यान गुमाए । तथ्यांकअनुसार एउटै घटनामा एकभन्दा बढीले ज्यान गुमाएको अवस्था छ । सोही वर्ष पाँचथरको आरुबोटेमा एकै परिवारका नौजनाको हत्या भएको थियो ।
घटना मात्रै हेर्ने हो भने आव २०७६-७७ मा चारवटा दर्ता भएका छन् । तिनमा चारजनाको ज्यान गएको छ । माघ महिनामा एउटा घटना दर्ता भएको छ । जसमा एकजनाको हत्या भएको छ । घटनाको प्रकृति हेर्दा परिवारमा सामान्य देखिने विवादबाट सुरु भएको देखिन्छ । प्रहरी अनुसन्धान भन्छ– ‘मादक पदार्थको नियमित सेवनले पनि हत्याको शृंखला बढाएको छ ।’