प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको तेस्राे चरणको विरोध कार्यक्रमअन्तर्गत शनिबार शुभेच्छुक संघ–संगठनहरूले ७७ वटै जिल्लामा विरोध र्याली तथा विरोभसभा गर्दै छन् । कांग्रेसले प्रतिनिधिसभा विघटन, त्यसविरुद्धको आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथग्रहणका विषयलाई थप गम्भीरतापूर्वक लिएर एकबद्ध भएर आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउन कांग्रेसले अपिल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम भन्दै आन्दोलनमा रहेको कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्तिविरुद्ध कांग्रेसले सधैँ संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले विरोध गर्दै आएको दाबी गरेका छन् ।
‘अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं, संसद् विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने, तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौँ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौँ ।’
प्रवक्ता शर्माले संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रस्ट रूपले विरुद्धमा उभिएको जानकारी दिएका छन् । ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ,’ प्रवक्ता शर्माले विज्ञप्तिमार्फत भनेका छन् ।