हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाको कारण बन्द भएका होटेलहरू करिब नाै महिनापछि खुल्न थालेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन घोषणासँगै बन्द भएका होटेलहरू पुस दोस्रो सातादेखि मात्रै सञ्चालनमा आएका हुन् ।
सरकारले लकडाउनलाई हटाएर पर्यटन क्षेत्रलाई खुला गरे पनि मुस्ताङका होटेल व्यवसायीले होटेल नखोल्दा मुस्ताङमा पर्यटक आउन पाएका थिएनन् ।
मुस्ताङको पर्यटन बन्द हुँदा म्याग्दीको पर्यटन क्षेत्रसमेत चलायनमान बन्न सकेको थिएन । स्थानीय प्रशासन, सरोकारवाला र होटेल व्यवसायी संघको पहलमा पर्यटन क्षेत्रमा पर्यटकहरूलाई भ्रमणका लागि आउने वातावरण बनाउन होटेल व्यवसाय सुचारु गर्ने सहमति बनेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । उनका अनुसार, स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई पालना गरी होटेलहरू सञ्चालन हुन थालेका हुन् ।
होटेलहरू खुलेसँगै मुस्ताङ भ्रमणमा जाने पर्यटकहरूलाई सहज हुने भएको छ । तत्काललाई होटेलहरू खुला गर्ने भए पनि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर भने अझै खुला भएको छैन । मन्दिरलाई समेत छिट्टै सुचारु गर्ने गरी व्यवसायी र सरोकारवालासँग समन्वय भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन् ।