रेसुंगा नगरपालिका– २ का १६ वर्षीय सुनिल विक । उनी तम्घासका व्यवसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर राति फर्कने वेला रेसुंगा नगरपालिका– १३ मा अटो दुर्घटनामा परे । उपचारका लागि सोही दिन पाल्पाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पुगे । उपचारपछि उनी आइतबार हस्पिटलबाट डिस्चार्ज भएका छन् । तर, तीन लाख १५ हजार तिर्न नसक्दा अस्पतालले बाहिर निस्कन नदिएको बुबा सहवीर विकले गुनासो गरे ।
उपचार खर्च बुझाउन नसकेर अस्पतालमै बन्धक बन्ने भएपछि विकले जिल्लामा सहयोगको हारगुहार गरिरहेका छन् । ‘मेरो घरमा खाने चामल पनि छैन, घाइते छोरा अस्पतालमा बन्धक बन्यो,’ उनले भने, ‘निमुखा बाँचेर काम रहेनछ ।’ बिरामीलाई मंगलबार बिहानसम्म ननिकाले दैनिक बेडको १५ सय चार्ज लाग्ने अस्पतालले आफूहरूलाई जानकारी दिएको बताए । काम गरेर फर्कँदै गरेका विक दुर्घटनामा परेर अस्पतालमै अलपत्र परेपछि सोमबार जिल्लामा मजदुरहरूले सहयोग संकलन गरिरहेका छन् ।
निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार पाँच सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितिका सल्लाहकार भुवन रानाले जानकारी दिए । ‘मजदुरको सरकार पदका लागि गुटगत लडाइँमा छन्,’ उनले भने, ‘काम गरेर खाने मजदुर दुर्घटनामा परेर उपचार गर्दा पैसा तिर्न नसकेका बन्धक बन्नुपर्ने कस्तो विडम्बना !’
घाइते सुनिलका बुबा सहवीर रेसुंगा माविका सुरक्षागार्ड हुन् । उनलाई विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले ५४ हजार पाँच सय हजार पठाएका छन् । घाइते विकले काम गर्ने कम्पनीका व्यवस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसँग समन्वय भइरहेकाले केही उपाय नभए मंगलबार सरोकारवालासँग सहयोेग जुटाएर भए पनि उद्धार गर्ने बताइन् ।
अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिका– १२ का ३० वर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका– २ का १७ वर्षीय सुरज विकको मृत्यु भएको थियो भने रेसुंगा नगरपालिका– १२ का १७ वर्षीय रमेश खत्री, रेसुंगा नगरपालिका– २ का १६ वर्षीय रोशन परियार र १७ वर्षीय सुनिल विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु.१ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।