कार्ला क्यान्डेलारिया र उनका श्रीमानले आफ्ना नानीहरूलाई खाना खुवाउन फुड बैंकमा निर्भर हुनुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । भर्जिनियास्थित लउडउनमा बस्ने ३० वर्षीया कार्ला र उनका श्रीमान् दुवैसँग जागिर थियो । दुवैजनाको तलबबापत आउने रकमले परिवारलाई राम्रोसँग पुगेको थियो । कार्ला एउटा केयर सेन्टरमा काम गर्थिन् । उनका श्रीमान् निर्माण सेवामा कार्यरत थिए । दुवैजनाको तलबबाट परिवार राम्रोसँग चलेको थियो ।
तर, गत जुन अन्तिममा कार्लाले जागिर गुमाइन् । उनी भन्छिन्, ‘त्यसपछि एकाएक सबै कुरा परिवर्तन भयो । खानाका लागि फुड बैंकमा निर्भर हुनुपर्ने अवस्था आयो ।’ नियमित भइरहेको आम्दानी घटेपछि उनलाई परिवार धान्न मुस्किल बन्यो । उनीहरूका ११ वर्षीय, नौ वर्षीय र चार वर्षीय जुम्लिया गरी चार छोरा छन् । उनीहरूको रेखदेखका लागि समेत खर्च गर्नुपर्दा परिवारमा ठूलो आर्थिक संकट परेको छ ।
केही समय उनीहरूले ऋण लिएरसमेत परिवार चलाए । कार्लाका अनुसार अहिले ऋण पनि तिर्न नसक्ने अवस्था छ । सबै उपाय सकिएपछि उनीहरू अहिले बिहान–बेलुकाको छाक टार्न नजिकै रहेको लउडउन हंगर रिलिफ फुड बैंकमा निर्भर भएका छन् ।
यसरी छाक टार्नकै लागि निःशुल्क खाना बाँड्ने फुड बंैकमा भर पर्नुपर्ने अमेरिकामा कार्ला मात्रै होइनन् । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण अमेरिकामा भोकमरीको समस्या धेरै बढेको छ । धेरै मानिस बिहान–बेलुका छाक टार्नकै लागि ‘फुड बैंक’मा निर्भर पर्न थालेपछि संस्थाहरूलाई समेत खाना पु¥याउन मुस्किल परेको छ ।
तथ्यांक विभागका अनुसार अमेरिकामा इतिहासमा कुनै पनि संकट वा महामारीको भन्दा कोरोना भाइरस महामारीमा भोकमरीको समस्या धेरै बढेको छ । गत नोभेम्बर महिनामा गरिएको सर्भेअनुसार प्रत्येक आठमध्ये एक अमेरिकी नागरिकले आफ्नो घरमा कहिलेकाहीँ वा नियमित रूपमै खानेकुरा सकिएको बताएका छन् । जुन अनुभव पहिले कहिल्यै नगरेको उनीहरूले जनाएका छन् ।
सर्भेअनुसार २६ मिलियन बयस्कहरूले आफ्नो घरमा गत साता खानेकुराको अभाव भएको जनाएका छन् । अमेरिकामा समग्र रूपमै खाद्य सुरक्षामाथिको चुनौती भने गत वर्षबाटै बढेको हो । अमेरिकाको खाद्य सुरक्षा गत वर्ष सन् १९९८ देखि यताकै सबैभन्दा कम बिन्दुमा देखिएको थियो ।
यसअनुसार अमेरिकामा भोकमरीको समस्या नौलो होइन । यद्यपि, कोरोना भाइरस महामारीले यसपटक भोकमरीको समस्या बढाउन मुख्य योगदान पु¥याएको छ । अमेरिकाका केही धनी राज्यमा पनि यो ठूलो समस्याको रूपमा देखिएको छ ।
लउडउन हङ्गर रिलिफले भर्जिनियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ कोर्र्सनजिकैको क्षेत्रमा सधैँ खाना बाँड्ने गथ्र्याे । कोरोना भाइरस महामारी सुरु हुनु पहिले उनीहरूले प्रतिसाता सात सय ५० हरामारीमा घर परिवारलाई खाना खुवाउँदै आएका थिए ।
कोरोना भाइरस महामारी सुरु भएपछि यो संख्या दुई सय २५ प्रतिशतले वृद्धि भएको लउडउन हंगर रिलिफले जनाएको छ । ‘हामीले धेरै नयाँ मान्छेलाई देखिरहेका छौँ, जसलाई पहिले कहिल्यै यस्तो स्रोतको प्रयोग गर्नु आवश्यक नै परेको थिएन,’ लउडउन हंगर रिलिफका कार्यकारी निर्देशक जेनिफर मोन्टगोमेरी भन्छन्, ‘उनीहरू अहिले साँच्चिकै समस्यामा परेका छन् ।’
सान फ्रान्सिस्को र मारिनजस्ता अमेरिकाका धनी राज्यहरूमा आफ्नो सेवा दिइरहेको द सान फ्रान्सिस्को–मारिन फुड बैंकले अहिले ६० हजार परिवारलाई खाना खुवाउँदै आइरहेको छ । संस्थाका कार्यकारी निर्देशक पल आसका अनुसार यो संख्या कोरोना भाइरस महामारी फैलनुअघिको भन्दा दोब्बर हो ।
कोरोना भाइरस महामारी सुरु हुनुभन्दा पहिले वृद्धवृद्धा र बेरोजगारहरूले मात्रै फुड बैंकको सेवा लिन्थे । वा, फुड बैंकको सेवा लिनेहरूमा उनीहरूकै बाहुल्य हुन्थ्यो । तर, अहिले कोरोना भाइरस महामारी सुरु भएपछि जागिर गुमाउनेहरू धेरै छाक टार्न फुड बैंकको भर पर्ने गरेको पाइएको छ ।
अर्थविद् एवं उत्तरपश्चिमी विश्वविद्यालयअन्तर्गत नीति अनुसन्धानका निर्देशक डिएनी वाइटमोर कोरोना भाइरस महामारीले परिवारमा पारेको आर्थिक संकट नै भोकमरी बढ्नुको समस्या भएको बताउँछन् । गत मार्चदेखि नै अमेरिकामा खाद्य असुरक्षा बढेको हो । जति वेला लकडाउनका कारण अमेरिकाको अर्थतन्त्र स्थिर बनाएको थियो ।
अमेरिकामा बालबालिकासहितको अभिभावकमा धेरै कारणले ठूलो समस्या देखिएको छ । भाइरसकै कारण विद्यालय बन्द रहँदा धेरै आमालाई आफ्नो नानी हेर्न कसैलाई तलबमा राख्नुपर्ने भएको छ । वा आफैँले जागिर छाडेर नानी हेर्नुपर्ने अवस्था देखिएको छ । यी दुवै अवस्थामा आर्थिक नोक्सानी हुनेछ ।
बालबालिका घरमै बस्दाको अवस्थामा धेरैपटक र धेरै खाना बनाउनुपर्ने अवस्था हुन्छ । अमेरिकाको विद्यालयहरूमा धेरै बालबालिकाले निःशुल्क वा कम मूल्यमै खानेकुरा पाउने गर्थे । त्यही अवसर पनि नपाउँदा परिवारमा ठूलो समस्या पर्ने गरेको छ ।
महामारीको अवधिभर यस्तो फुड बैंकहरूले धेरै परिवारलाई खाना खुवाएका छन् । ‘उनीहरूले हामीलाई धेरै दिएका छन्,’ कार्ला भन्छिन्, ‘खानामा पनि उनीहरूले सबै चिज दिएका छन् । हामीले चाहेको खान पाएका छौँ ।’
लउडउन हंगर रिलिफले एउटा परिवारलाई एकपटकमा १४ दिनसम्मलाई पुग्ने गरी खानेकुरा दिने गरेको छ ।