संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको २६औँ महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताएका हुन् ।
स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्ने दाबीसमेत उनको छ ।
कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए ।
यस्तै संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि उनको भनाइ छ ।
संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीय तहले असाधारण काम गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिंगाे देशवासीको भएको बताए ।
त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको उनको भनाइ छ ।
काठमाडौंमा स्थायी बासिन्दाभन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलोमुक्त र हिलोमुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।
महानगरपालिकाले ०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ ।
महानगरपालिकाले कोभिड– १९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।