कमजोर प्रतिपक्षको सशक्त तयारी

घटनाक्रमले पनि पुष्टि गरेका छन्, अरूलाई लोकतन्त्र सिकाउने कांग्रेस पार्टी स्वयं लोकतान्त्रिक छैन

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेस वर्तमानमा जे–जस्तो अवस्थामा छ, जगजाहेर छ । नेपाली राजनीतिक इतिहासको पहिलो दल कांग्रेस इतिहासमै यति कमजोर र लाचार नभएको कुरा यसकै नेताहरूले वेलाबखतमा टिप्पणी गर्दै आएका छन् । कतिपयले यस्ता टिप्पणीलाई आग्रही देख्न सक्लान्, तर सारमा यस्ता टिप्पणी सत्यको अत्यन्त निकट छ भन्दा अतिशयोक्ति हुँदैन । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोबारे यहाँ चर्चा गरिरहनु आवश्यक छैन । तर, दुःखद छ, पछिल्ला घटनाक्रमले पनि पुष्टि गरेका छन्, अरूलाई लोकतन्त्र सिकाउने यो पार्टी स्वयं लोकतान्त्रिक छैन । 

लोकतन्त्र सञ्चालनमा निर्वाचित प्रतिनिधिको अत्यन्त महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिन्छ । एकथरीले प्रत्यक्ष रूपमा सत्ता सञ्चालन गर्छ भने अर्काथरी प्रतिपक्षमा बसेर सत्ता सञ्चालकमाथि दबाब सिर्जना र खबरदारीको भूमिका निर्वाह गरेर जनतालाई सुशासन प्रत्याभूतका दिशामा भूमिका निर्वाह गर्छन् । तर, नेपालको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्ने हो भने यहाँ सत्ता सञ्चालकको रजगज हाबी छ ।

प्रतिपक्षको उपस्थितिको अनुभव आमजनताले गर्न सकेका छैनन् । दुःखका साथ भन्नुपर्छ, आफूलाई लोकतन्त्रको ‘च्याम्पियन’ भन्ने कांग्रे्रेस वर्तमानमा प्रतिपक्षको भूमिकामा पराजित र निरीह देखिएको छ । स्वयं कांग्रे्रेसका नेता तथा कार्यकर्ता टिप्पणी गर्छन्, देश अहिले प्रतिपक्षविहीन अवस्थामा छ ।

जनमानसमा व्याप्त यस्ता धारणाको उपस्थितिमा लोकतन्त्रको भविष्यका दृष्टिले निकै घातक परिणाम विकसित हुने कुरालाई अस्वीकार गर्न सकिँदैन । यस्तोमा लोकतन्त्रको भविष्यमाथि त प्रश्नचिह्न लाग्छ नै कम्युनिस्ट सर्वसत्तावादले पनि मौलाउने अनुकूल अवसर प्राप्त गर्छ । 

निश्चय पनि लोकतन्त्र कमजोर हुने अवस्थामा अलोकतान्त्रिक शक्ति हाबी हुने कुरालाई अत्यन्त स्वाभाविक मान्नुपर्ने हुन्छ । देशका पछिल्ला घटनाक्रम यसै अनुकूल विकसित हुँदै छन् भनियो भने असंगत ठहर्दैन । राजावादीको सलबलाहट, सुशासन अधोगतितर्फ अग्रसर हुनु र कांग्रेसका  नेता आफ्नै गृहनगरमा प्रहरीबाट अनाहकमा पक्राउ पर्नुलाई यसै शृंखलाको कडी मान्न सकिन्छ ।

शासकीय दृष्टिले अनेक बेथिति उत्कर्षमा पुगिसक्दा पनि कांग्रेस निष्क्रिय गतिहीन बन्नु उदेकलाग्दो छ । यस्तोमा स्वाभाविक रूपले प्रश्न उठ्छ, के यो संयोग मात्र हो ? कि साँच्चै काग्रेस जुँगा उखेलिएको कमजोर र रुग्ण बाघ बन्न पुगेको छ ? उत्तर निश्चय पनि कांग्रेस नेतृत्वले आफूअनुकूल नै दिनेछ भन्नेमा शंका छैन ।

कतिपय त केसम्म पनि टिप्पणी गर्छन् भने वर्तमान सत्ताका लागि वास्तविक प्रतिपक्ष त कांग्रेसभन्दा पनि सत्ताधारी पार्टीकै सरकारइतर समूह हो, जसले सरकारका लागि विविध मोर्चामा बाधा–व्यवधान सिर्जना गरेको छ । परिणास्वरूप सरकारको नेतृत्व आफ्नै घरभित्र प्रतिरक्षात्मक बन्न पुगेको छ । कांग्रेसको भूमिका त सत्ताधारीको घर–झगडामा ताली पिट्न मात्र सीमित छ ।

वर्तमान रबैयाका आधारमा कांग्रेसको मूल्यांकन गर्नुपर्दा यो पार्टी, जो औपचारिक प्रतिपक्ष हो, सरकारका लागि सहयोगी संयन्त्र बनेको जस्तो देखिएको छ । प्रश्न उठ्छ, किन ? यसका अनेक सम्भावित उत्तर हुन सक्छन् । तर, एउटा सम्भावित उत्तर के हुन सक्छ भने सरकारले यस पार्टीलाई यो वा त्यो नाममा ‘म्यानेज’ गरेर राखेको छ ।

सायद सत्ताधारीको घर–झगडाका कारण नेकपा फुट्ने र एकपक्षसँग मिलेर सरकारमा जान खुट्टा उचालेर बसेका कारण पनि सरकारमा रहेकाको विरोध गर्ने नैतिक शक्ति कांग्रेसले गुमाएको भन्नेहरूको कमी राजनीतिक वृत्तमा छैन । यसैगरी, सरकार प्रमुखको प्रत्यक्षमातहतमा रहेको सम्पत्ति शुद्धीकरण र अख्तियारजस्तो संयन्त्रले विगतमा सरकारमा रहँदा कांग्रे्रेसका केही कमजोरी हात पारेको हुन सक्ने आशंका यतिखेर बजारमा गरिएको छ । 

अर्को, विभिन्न पदमा नियुक्ति, सरुवा र बढुवामा कांग्रेस नेतृत्वको दृष्टि छ भनेर भन्नेको संख्या पनि कम छैन । यसो हो भने कांग्रेस बचाउका पक्षमा प्रतिरक्षात्मक बन्नु अत्यन्त स्वाभाविक छ । यीमध्ये कुनै पनि कुरा सत्य होइनन् भने देशमा सत्ताले विकृतिको वितण्डा मच्चाइसक्दा पनि कांग्रेस चुप लागेर बस्नुको अन्तर्य के हो ?

विगतमा संसदीय निर्वाचन सम्पन्न भई सरकार गठन भएको तीन वर्षको समय बित्न लाग्दासमेत कांग्रेस प्रतिपक्षको सबै मोर्चामा असफल हुनुको कारण के हो ? कहाँसम्म भने, राजावादीको कोलाहलमा लोकतन्त्रको आवाज मत्थर हुने खतरामा पनि कांग्रेसको मौनता अर्थपूर्ण छ ।

भ्रष्टाचारमा देश एसियामै शीर्ष स्थानमा पुग्दा पनि कांग्रेस मौन रहनु निश्चय पनि कांग्रेसजनलाई चित्त बुझेको छैन । कोरोनाका कहर उत्कर्षमा पुग्दा पनि सरकार गैरजिम्मेबार बनेको सर्वविदितै छ, तर कांग्रेसलाई कुनै मतलब छैन । 
राजनीतिमा मुद्दा महत्वपूर्ण मानिन्छ । चुनावमा जित्नु वा हार्नु धेरै हदसम्म प्राविधिक कुरा हो, तर मुद्दाका आधारमा जनतासँग जोडिने कुरा दलीय व्यवस्थामा दलका लागि निकै महत्वपूर्ण हुने गर्छ ।

अहिले जनसामान्य सत्ताधारी नेकपाप्रति असन्तुष्ट छन् । तर, वर्तमानमा जनतासँग सशक्त विकल्प पनि देखिएको छैन । नेकपाको विकल्प निश्चय पनि नेपाली कांग्रेस हो । तर, कांग्रेसको व्यवहारबाट पनि आमजनता सन्तुष्ट हुन सकिरहेका छैनन्, यो सत्य हो ।

दलहरूले जनतासँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई कसरी लिए भन्ने मूल्यांकनका आधारमा सम्बद्ध दलको राजनीतिक भविष्य निर्धारित हुने गर्छ । भारतरमा भारतीय कांग्रेस पार्टी पनि संख्यात्मक हिसाबले अत्यन्त कमजोर प्रतिपक्ष मानिन्छ, तर यस पार्टीले पछिल्लो समयमा सरकारको कृषिसम्बन्धी कानुनको विरोध गरेको छ र सम्पूर्ण देशमा हलचल मच्चाएको छ । तर, नेपालमा पछिल्ला दिनमा सरकारले लोकतन्त्रविरोधी अनेकौँ कानुन ल्याएको छ, तर प्रतिपक्षले प्रतिकार गर्न सकेको छैन । आफ्नै  पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकारले गिरफ्तार गर्दा पनि कांग्रेस चुप लागेर बस्दै थियो । 
जेहोस् अब भने कांग्रेस धेरैपछि निद्राबाट बिउँझिएजस्तो देखिएको छ । र, आज देशभरि सशक्त रूपमा विरोध प्रदर्शनका माध्यमबाट आफूलाई एकपटक पुनः जनताका माझ स्थापित गर्ने तयारीमा जुटेको छ । पौडेलप्रतिको दुव्र्यवहार सुनियोजित थियो । यो घटना सत्ताधारीको आन्तरिक विवाद मत्थर बनाउन, नेकपाका कार्यकर्ताको ध्यान अन्यत्रै मोड्ने उपायका रूपमा सिर्जिएको थियो । तर, यो घटनाप्रतिको कांग्रेसको लामो समयको उदासीनता सोचनीय छ ।

१७ गतेको घटनाको विरोध २९ गते गर्ने रे ! विरोध गर्न कांग्रेसले १२ दिन किन कुरेको होला ? यस विषयलाई राजनीतिको गल्लीमा पक्ष र विपक्षका सभापतिबीचको कुनै ‘बार्गेनिङ’को सम्भावित ‘सेटिङ’का रूपमा पनि हेरिएको छ । पौडेल कांग्रेसका नेता मात्र होइनन् । उनी चिन्तक, विचारक र सिद्धान्तकार पनि हुन् ।

लोकतान्त्रिक ‘समाजवाद’लाई आजको परिवेशमा नयाँ ढंगले व्याख्या र विश्लेषण गरी देशलाई वैचारिक तवरबाट अगाडि बढाउन क्रियाशील रहेका पौडेल सत्ताधारीका लागि विपक्षीमध्ये सम्भवतः सबैभन्दा ठूलो वैचारिक चुनौती हुन् । तर, पौडेललाई उनको गृहनगरमा सत्ताधारीद्वारा गरिएको अपमानपछि पनि कांग्रेस जागृत हुँदैन र यस घटनालाई पार्टीको गुट उपगुटसँग जोडेर हेरिन्छ भने यस परिदृश्यको सत्तासँगको साँठगाँठको आलोकमा मूल्यांकन गरिनु अपेक्षित छ ।

हो, अहिले जनसामान्य सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति असन्तुष्ट छन् । सरकारको आयु जति लम्बिन्छ सुशासनका दृष्टिले देश त्यति नै समस्याग्रस्त बन्ने निश्चित छ, तर वर्तमानमा जनतासँग सशक्त विकल्प पनि देखिएको छैन । नेकपाको विकल्प निश्चय पनि नेपाली कांग्रेस हो । तर, कांग्रेसको व्यवहारबाट पनि आमजनता सन्तुष्ट हुन सकिरहेका छैनन्, यो सत्य हो । कांग्रेसले पनि जनतामा आशा र विश्वासको सञ्चार गर्न सकेको छैन ।

कांग्रेसले चाहेको भए वर्तमान नेकपा सरकारका कमजोरी र असफलताको लामो सूची लिएर जनताका बीच जान सक्थ्यो, तर त्यसो गर्न सकिरहेको छैन वा त्यसो गर्न चाहेको छैन । यसको सट्टा कांग्रेस गुट–उपगुटको झैँझगडामा व्यस्त छ । यस्तोमा आगामी निर्वाचनमा एकपटक पुनः कांग्रेसले अपेक्षित सफलता प्राप्त गर्न सकेन भने त्यो आश्चर्यको विषय हुनेछैन ।  

कांग्रेस नेतृत्वले माथि उल्लेख गरिएका कुराप्रति आफ्ना निराश कार्यकर्ता र आमजनतालाई समय छँदै चित्तबुझ्दो उत्तर दिनु आवश्यक छ । यस पार्टीका संस्थापक बिपी कोइरालाले एक ठाउँमा भनेका छन्, नेतृत्वको सबभन्दा ठूलो गुण त्यसको यस पारखमा रहन्छ कि आन्दोलन कुन–कुन क्षणदेखि पतनोन्मुख हुनथाल्छ, त्यो क्षणमा पुग्नुभन्दापूर्व नै नेताले जनतालाई नैराश्यबाट बचाउँछ ।

वर्तमान अवस्था बिपीले भनेजस्तै छ भन्दा गलत हुँदैन । जनता निराश छन्, तर नेतृत्वलाई सायद जनताको निराशाबारे जानकारी छैन वा तिनले थाहा पाएर पनि बुझपचाएका छन् । यसो हो भने कांग्रेस नेतृत्वले जनताको आकांक्षालाई नियन्त्रण गर्न सक्दैन । त्यो आंकाक्षा कांग्रेसबाहेकको विकल्पको चयन पनि हुन सक्छ । 

सुझावित समाचार