चाँगुनारायणले बनायो कोरोना अस्पताल

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

भक्तपुरको चाँगुनारायण नगरपालिकाले कोरोना अस्पताल निर्माण गरेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले दिएको अधिकारबमोजिम नगरपालिकाले दिगो रूपमा समेत सञ्चालन गर्ने गरी आफ्नै अस्पताल सञ्चालन गरेको हो । 

कोरोना महामारीका वेला अस्पतालको आवश्यकता महसुस गर्दै केन्द्र सरकारले बल्ल मात्रै स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेट पठाउँदै छ । तर, चाँगुनारायणले आफ्नै अस्पतालबाट सेवा नै थालेपछि नगरवासी हर्षित भएका छन् । 

नवनिर्मित अस्पतालको आइतबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरे । मन्त्री श्रेष्ठले नगरपालिका आफैँले अस्पताल सञ्चालनमा ल्याएकोप्रति खुसी व्यक्त गरे । ‘सरकारले हालै मात्र देशभर एक स्थानीय तह, एक अस्पताल शिलान्यास गरेको छ, चाँगुनारायणले त्योभन्दा अगावै नगर अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘अब कमसेकम आधारभूत सेवाका लागि नगरवासीले टाढा र महँगा अस्पताल धाउनुपर्दैन ।’ 

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा, जनशक्ति र पूर्वाधार विस्तार गरेर नगर अस्पताल सञ्चालन गरेको हो । मेयर सोमप्रसाद मिश्रले महामारीका वेला सम्भावित जोखिमलाई लक्षित गर्दै अस्पतालका लागि पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याएको बताए । 

१७ बेडको अस्पतालमा अहिले १७ जना स्वास्थ्यकर्मी कार्यरत छन् । ‘जनशक्ति थप गर्दै जान्छौँ, मागअनुसार सेवालाई विस्तार गर्ने योजना छ,’ मेयर मिश्रले भने, ‘अहिले विशेषतः कोभिड विशेष अस्पतालकै रूपमा सञ्चालन गर्छौँ ।’ अस्पताल सञ्चालनमा आएपछि अब नगर क्षेत्रका कोभिड– १९ संक्रमित बिरामीहरूलाई सहज हुने भएको छ । 

अस्पतालमा ओपिडीसहित प्रसूति, नाक, कान, घाँटी, आँखासम्बन्धी सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ । 
 

सुझावित समाचार