बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दामा पर्याप्त प्रमाण र आधार नभएको भन्दै शुक्रबार खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । जोर्जिया, मिसिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता ट्रम्पले मुद्दा दायर गरेका थिए । अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ । उनले गत ३ नोभेम्बरका दिन सम्पन्न निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउँदै उनले विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरेका थिए । ती अदालतहरूले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएको छ । 

प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिएलगत्तै उनले नतिजा अस्वीकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरूले उनको मागलाई अस्वीकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगामी २० जनवरीका दिन राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनलाई पद हस्तान्तरण गर्नेछन् ।

सुझावित समाचार