रुसका दुई ठूला बैंक नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न इच्छुक

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कुनै आयोजनामा लगानीको योजना,जिटुजीमा लगानी गर्ने इच्छा, लगानीलाई स्वागत गर्ने ऊर्जामन्त्रीको भनाइ

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डिस्ट्रियल बैंकले नेपालको जलविद्युत्मा लगानी गर्ने इच्छा देखाएका छन् । यस्तो प्रस्ताव लिएर मंगलबार बैंकका प्रतिनिधिहरूसहित नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ ऊर्जा मन्त्रालय पुगेका छन् । 

ऊर्जामन्त्री वर्षमान पुन र मन्त्रालयका अन्य अधिकारीसँगको भेटमा रुसी प्रतिनिधिमण्डलले सरकार–सरकारबीचको सम्झौतामा जलविद्युत्मा लगानी गर्न चाहेको बताएका छन् । भेटमा रुसी अधिकारीहरूले नेपालमा ठूलो लगानीको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको ऊर्जा मन्त्रालयका अधिकारीहरूको भनाइ छ । 

रुसी राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे समेत मन्त्री पुनसँग चासो राखेका थिए । यस्तै, नेपालमा विद्युत् र सिँचाइको संयुक्त आयोजनाको सम्भाव्यताबारे जानकारी लिएका छन् ।

भेटमा रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने–नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको छ । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए । 

ऊर्जामन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युत्मा लगानी गर्न सक्ने जानकारी दिए । उनले रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्दै भने, ‘हामीसँग भएको व्यवस्थामध्ये तपाईंहरूका लागि कुन मोडालिटी सहज लाग्छ । त्यसका लागि हामी तयार छौँ ।’  

आन्तरिक खपत गरेर बढी भएको विद्युत् निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको समेत उनले जानकारी दिए । भारतीय ग्रिड प्रयोग गरेर बंगलादेश विद्युत् निर्यात गर्ने गरी भारतसँग सैद्धान्तिक सहमति भइसकेकाले बजारको चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए ।  

नेपालकै तेस्रो पुरानो २ दशमलव ४ मेगावाटको काभ्रेस्थित खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा निर्माण भएको थियो । उक्त आयोजनाबाट हालसम्म पनि विद्युत् उत्पादन भइरहेको छ । 

भेटमा राजदूत नोभिकभका साथै लान्टा बैंक र मस्को इन्डिस्ट्रियल बैंकका उच्च अधिकारीका साथै रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का महासचिव गोरे शेर्पा सहभागी थिए । 

सुझावित समाचार