प्रधानमन्त्रीले अवधि नपुग्दै संसद् विघटन गर्ने व्यवस्था छैन : भीम रावल

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण
प्रधानमन्त्रीले अवधि नपुग्दै संसद् विघटन गर्ने व्यवस्था छैन : भीम रावल

फाइल तस्वीर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले आफ्नो अवधि पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले संविधानबमोजिम निश्चित समय नपुगेसम्म प्रतिनिधिसभा विघटनको व्यवस्था नरहेको दाबी गरे ।

प्रधानमन्त्रीले संसद् विघटन गर्ने विकल्पको चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मैले त त्यो सुनेको छैन, तर म के कल्पना गर्न सक्दिनँ भने यो प्रतिनिधिसभा नेपालको संविधानबमोजिम जसरी गठन भएको छ, यो एउटा निश्चित समय नपुगेसम्म कसैले विघटन गर्ने कुरा सोच्नुहुन्छ । आवेश, उत्तेजनामा पाइला चालिहालेमा पाइला अगाडि बढ्न सक्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।’ 

नेता रावलले कुनै हालतमा पनि नेकपा नफुट्ने ठोकुवा गरे । पार्टी फुटाउन सजिलो नभएको उनको भनाइ थियो । ‘नेकपा माटोको हाँडी होइन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्नेबित्तिकै फुट्ने,’ रावलले भने, ‘पार्टी कमजोर आधारमा पनि बनेको होइन ।’

पार्टी फुट्न सैद्धान्तिक विषय, महत्वपूर्ण राष्ट्रिय विषय र प्रतिनिधिसभामा आवश्यक संख्या पुऱ्याउनेजस्ता प्रक्रियामा गएको हुनुपर्ने उनको भनाइ थियो । पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए ।

‘पार्टी फुटाएर (ओलीले) प्रधानमन्त्रीभन्दा ठूलो के पद पाउने ?, प्रचण्डले आठ लाख सदस्य भएको पार्टीको अध्यक्षभन्दा के पाउने ?’ उनले भने, ‘कि त कसै–कसैले एमसिसी सम्झौता जसरी पनि पारित हुने सोच्नुपऱ्याे । नागरिकतासम्बन्धी विधेयक आउन नदिने सोच्नुपऱ्याे ।’

नेकपाको विवाद सैद्धान्तिक र नीतिगत मतभेद, भागबन्डाका लागि नभई पार्टी विधि प्रणालीबाट चल्नुपर्छ, पार्टीका निर्णय, घोषणापत्र, प्रतिबद्धता, कार्यक्रम कार्यान्वयन गरेर जानुपर्छ भन्ने विषयको विवाद भएको नेता रावलले बताए । 

‘सैद्धान्तिक, नीतिगत मतभेद होइन, कतिपय कार्यशैलीगत, कतिपय विधि– पद्धतिसँग सम्बन्धित, पार्टीको विधि–विधानलाई कार्यान्वयन गर्नेसम्बन्धी विवाद हो,’ उनले भने ।

सुझावित समाचार