सरसफाइ भएको घरमा हरियो स्टिकर

बिहिबार, ४ मंसिर, २०७७
डिजिटल संस्करण

खुला दिशामुक्त घोषणा भएको दुई वर्षपछि मोरङको बेलबारीमा घरमा हरियो स्टिकर टाँस्न थालिएको छ । ६ वटा सूचकका आधारमा सरसफाइ गर्ने घरमा स्टिकर टाँस्न थालिएको हो । 

घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर स्थानीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । केही सफा घरलाई निलो र पूर्ण सफा घरलाई हरियो स्टिकर टाँस्न लागिएको छ । 

यसका लागि पाँच सूचक बनाइएको छ । जसमा घरका सदस्य शौचालयमा दिसापिसाब गर्ने आएको, दिसापिसाब गरेपछि साबुनपानीले हात धुने गरेको हुनुपर्छ । त्यस्तै, घर र आँगनसमेत सफा हुनुपर्ने, खाना र पानी पनि अनियमित र दूषित नभएको हुनुपर्ने मापदण्ड तय गरिएको जिल्ला खानेपानी, सरसफाइ स्वच्छता समन्वय समिति, मोरङका संयोजक तथा जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेलले बताए । 

उनका अनुसार सूचकलाई नै आधार मानेर स्थानीय तह तथा वडास्तरीय अनुगमन समितिले अनुगमन गरेर सिफारिस गरेपछि मात्रै हरियो स्टिकर टाँस्ने गरिएको छ । सूचकमा १०० अंक प्राप्त गर्ने घरपरिवारले मात्रै स्टिकर प्राप्त गर्ने जिल्ला सरसफाइ मार्गदर्शनमा उल्लेख गरिएको छ । 

अहिले बेलबारी नगरपालिका–११ मा रहेको मिलन टोलमा स्टिकर टाँस्न सुरु गरिएको छ । सरसफाइ व्यवस्थापन समितिका कोषाध्यक्ष कल्पना क्षेत्रीले बेलबारीकै नयाँ बस्तीको रूपमा रहेको मिलन टोललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको बताइन् । ‘सबै घरमा शौचालय छन्, फूलबारी बनाइएको छ,’ कोषाध्यक्ष क्षेत्रीले भनिन्, ‘पानी उमालेर तथा शुद्धीकरण गरेर मात्रै खान्छौँ ।’ मिलन टोलका सबै घरमा स्थानीयस्तरमै बाँसको चोयाबाट बनाएको फोहोर फाल्ने भाँडो पनि राखिएको छ । 

नगरपालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिले हरियो स्टिकर टाँस्नुअघि घरहरूको अनुगमन गर्ने गर्छ । बेलबारीका तीनवटा वडाबाट हरियो स्टिकर टाँस्न थालिएको हो । अहिले वडा नं. ८, १० र ११ मा यो अभियान सुरु गरिएको वडाध्यक्ष यमबहादुर पोख्रेलले बताए । युएन ह्याबिट्याट र नारी विकास संघसँगको सहकार्यमा यो अभियान सुरु गरिएको जनाइएको छ ।

सुझावित समाचार