३८ वर्षमा आठ छोरी, अझै मरेको छैन छोराको आस

बुधबार, ३ मंसिर, २०७७
डिजिटल संस्करण

कुमारी दर्जीको उमेर सोध्दा उनले जवाफ दिन्छिन्– ३८ वर्ष । तर, छोराछोरीको कुरा गर्दा भने उनको मुहारको रंग फेरिन्छ । 

उत्तर सुन्नेले पनि जिब्रो टोक्न बाध्य हुन्छन्– आम्मै, आठ छोरी ?

तर, यही कुमारीको जीवनको तीतो सत्य हो । १३ वर्षको उमेरमा विवाहबन्धनमा बाँधिएकी कुमारीले आठ छोरी जन्माएकी छिन् । 

मेसिनजस्तो शरीर उनको पक्कै थिएन र रहर त झन यसरी २५ वर्षमा आठ छोरी जन्माउने कसको होला र ? 

तर, उनका अगाडि कुनै उपया थिएन । श्रीमानलाई छोराको रहर, पिण्ड तार्ने, वंश धान्ने खोजीमा उनले एकपछि अर्को छोरी जन्माउँदै गइन् । 

आफूभन्दा दुई वर्ष जेठा मुकुन्द दर्जीसँग १३ वर्षको उमेरमा उनको विवाह भएको थियो । अहिले मुकन्द ४० वर्ष लागे ।

आफ्नो सम्पत्ति केही नभएका उनीहरू काली माध्यमिक विद्यालयको १० धुर जग्गामा वार्षिक ६ सय भाडा तिरेर बस्दै आएका छन् । छाक टार्न मजदुरी गर्नैपर्ने बाध्यता । 

उनीहरूकी जेठी छोरी यतिखेर २२ वर्षकी भइन् । उनको विवाह भइसकेको छ । उनका छोरीहरूबीच मुस्किलले दुई वर्षको अन्तर देखिन्छ । केही छोरीले पढिरहेका छन् भने कतिपयले छोडिसकेका छन् । आठौँ छोरी भने गत वर्ष मात्रै जन्माएकी हुन् । 

मुकुन्द र कुमारीको जीवनमा सात सन्तानको जीविकोपार्जनको ठूलो भार छ । यो कुरा उनीहरूले नबुझेका होइनन् । मजदुरी नगर्ने हो भने मुखमा माड लाग्दैन । 

तर, छोराको आस भने दुवैले मारेका छैनन् । मुकुन्द भन्छन्, ‘अहिले पो मैले हेर्छु, मेरो शेषपछि कुमारीलाई कसले हेर्ला ?’ कुमारी भने लोग्नेको इच्छा टार्न नसकेको बताउँछिन् । तर, छोरी मात्रै जन्माएको भनेर हेलोहोचो भने परिवारमा कसैले पनि नगरेको उनले बताइन् । 
 

See More On

सुझावित समाचार