आगामी अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने ट्रम्पकाे दाबी

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । 

उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताएका हुन् । ट्रम्पले  अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलोपटक यो सार्वजनिक रूपमा मन्तव्य दिका थिए । 

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएका थिए । त्यस कार्यक्रममा उनले भने, ‘आगामी अप्रिल महिनासम्ममा सबै अमेरिकी नागरिकलाई यो खोप दिइनेछ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिइनेछ ।’

त्यसपछि यहाँका वृद्धवृद्धाहरू र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि  राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड– १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए । 

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिएका थिए । 

निर्वाचनमा आफ्नो पराजयपछि विभिन्न अभिव्यक्ति दिँदै आएका उनले यो सम्बोधनमा भने कुनै प्रतिक्रिया दिएनन् । 
 

सुझावित समाचार