दाजुभाइले दिदीबहिनीको हातबाट भाइटीका लागाउनुहुन्न भन्ने हल्लाकाे पछि नलाग्न समितिको आह्वान

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

ढुक्क भएर तिहारको टीका लगाउन आह्वान 

नेपाल पञ्चांग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाकाे पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।     

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले  विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चान्द्रमासअनुसार कात्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् । 

वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मंसिर १५ गतेसम्म कात्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए ।   यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो । 

भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर एकापसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सदभाव वृद्धि गर्ने पर्व भएकाले त्यसैअनुरूप मनाउन पनि समितिले आह्वान गरेको छ । रासस
 

सुझावित समाचार