लयमा फर्कंदै रसुवाको पर्यटन

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

कोभिड १९ को संक्रमण बढेसँगै थला परेको पर्यटन व्यवसाय पछिल्ला दिन आशलाग्दो गरी फष्टाएको छ 

कोभिड १९ को मारले थला परेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कंदैछ । यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढेको छ । हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेको हो । 

६ महिनादेखि पर्यटकको आवागमन शून्य रहेको जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले चहलपहल बढेको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले बताए । अहिले दैनिक सयदेखि एक सय ५० हाराहारीमा पर्यटक आइरहेकोसमेत उनले बताए । नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गको नागथली, तातोपानीलगायत क्षेत्रमा समेत हिमाली दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकोसमेत उनले बताए । 

रसुवासँगै नुवाकोट, काठमाडौंलगायत क्षेत्रबाट मानिसहरूको आवागमन भइरहेकोसमेत उनको भनाइ छ । त्यसैगरी, अहिले हेलिकोप्टर कम्पनीहरूले आन्तरिक पर्यटकलाई आकर्षण गर्न टुर प्याकेज पनि ल्याएका छन् । १९ हजारको प्याकेजमा गोसाइँकुण्ड आइपुग्ने भएपछि आन्तरिक पर्यटक हेलिटुरमार्फत गोसाइँकुण्ड यात्रामा आकर्षित भएका छन् । अहिले दैनिकजसो नै हेलीमार्फत गोसाइँकुण्ड जानेको संख्या बढ्दै गएको छ । 

तीन गन्तव्यमा मुख्य आकर्षण
पर्यटकीय दृष्टिकोणले रसुवामा पर्याप्त आकर्षक गन्तव्य भए पनि पर्यटकको घुइँचो भने जिल्लाका तीन गन्तव्यमा रहेको छ । सबैभन्दा धेरै पर्यटक गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्ग जाने गरेका छन् । यी गन्तव्यमा सुविधाका लागि होटेल, होमेस्टे, यातायातलगायत सुविधा उपलब्ध भएका कारण पर्यटकको आकर्षण देखिएको पर्यटन व्यवसायीको भनाइ छ । रसुवामा पछिल्लो समय पर्यटक बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश बस्नेतले जानकारी दिए । 

होटेल खुले, व्यवसायी उत्साहित

जिल्लामा पर्यटकको चहलपहल बढेसँगै पर्यटकीय क्षेत्रमा रहेका होटेल सञ्चालनमा आएका छन् । ६ महिनाभन्दा लामो समय व्यवसाय बन्द गरेका व्यवसायीले सेवा सुरु गरेका छन् । चहलपहल बढ्न थालेसँगै व्यवसायी उत्साहित भएका छन् । आफूहरू पर्यटकको स्वागतका लागि तयार रहेको लाङटाङका होटेल व्यवसायी दिण्डुप तामाङले बताए । ‘धेरै भयो पर्यटक नभएर शून्य भएको, अहिले फाट्टफुट्ट आउन थालेका छन्,’ उनले भने, ‘यहाँ एउटै होटेलमा ५० जनाभन्दा बढी राख्ने क्षमता रहेको छ, हामीले होटेल खुला राखेका छौँ, पर्यटकको पर्खाइमा छौँ ।’ 

त्यसैगरी चन्दनबारीका होटेल व्यवसायी सुब्बा लामाले भने, ‘सुरुका दिनमा आएका पर्यटक राख्न सबै डराउँथे, कतिले त होटेलमा राख्नै मान्ने थिएनन्, तर अहिले आएका पर्यटकलाई सबैले राखेका छन्, अहिले पर्यटकलाई खान–बस्नको समस्या छैन ।’

केही वर्षपहिलेसम्म मेला–पर्वका अवसरका मात्र पर्यटक भित्रने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि आन्तरिक पर्यटक बढेका छन् । न्यूनतम दुईदेखि १५ जनासम्मको समूहमा नेपाली पर्यटक आउने गरेको पाइएको छ । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायी र होटेल व्यवसायीलाई फाइदा पुगेको व्यवसायीहरूले बताएका छन् । 

जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारीमा होटेल सञ्चालनमा रहेका छन् । जिल्लाको स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तातोपानी, गतलाङ, वृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्गलगायत विभिन्न क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र रहेको छ । 
 

See More On

सुझावित समाचार