विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विकास निर्माणका योजना वातावरणमैत्री तथा विपत् प्रतिरोधी बनाउनुपर्ने बताएका छन् ।

मंगलबार बेदकोट नगरपालिकामा आयोजित छैटौँ कञ्चनपुर सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जलवायु परिवर्तन र प्राकृतिक विपतका जोखिम न्यूनीकरणका लागि विकास निर्माणका हरेक योजना वातावरणमैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले प्राकृतिक विपतबाट हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समुदायबिच त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको बताए ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकार विपत् व्यवस्थापन, जलवायु अनुकूलन तथा दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरे । प्रदेश सरकारले नीति, कार्यक्रम, बजेट तथा प्राविधिक सहयोगमार्फत स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने र विपत् जोखिम न्यूनीकरणका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

विगतका अनुभव र सिकाइको समीक्षा गर्दै आगामी दिनका लागि ठोस कार्ययोजना निर्माण गर्न पनि उनले स्थानीय तहको ध्यानाकर्षण गराए । विपत् उत्थानशीलताको अभियानलाई कञ्चनपुरका प्रत्येक गाउँबस्ती, टोल र घरसम्म पुर्याउन स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

कञ्चनपुर पनि विपतकाे उच्च जोखिममा रहेकाले विपत् प्रतिकार्य तथा व्यवस्थापनका लागि सरकार र विकास साझेदार संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए ।

सुझावित समाचार