इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना, सात सैनिकको मृत्यु

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । 

इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकाेप्टर दुर्घटना भएको हो । प्राप्त समाचारअनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् । 

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरूको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरू सबै अमेरिकी रहेका छन् । 

केन्द्रले इजिप्टको लालसागरको तटीय पर्यटकीय सहर शार्म एल–शेखनजिक हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको छ । 
एकजना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकाेप्टर इजिप्टको सीमाभन्दा बाहिर लालसागरमा दुर्घटना भएको थियो । 

घाइते सैनिकलाई उद्धार गरी इजरायलस्थित सहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकाेप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन । 

सुझावित समाचार