कोरोनाले १५० बेडको भेरी अस्पताल १९ बेडमै सीमित

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसका संक्रमितको उपचार सहज बनाउन अब भेरी अस्पतालमा इमर्जेन्सी र जनरल वार्ड १९ बेडको मात्रै हुने भएको छ । एक सय ५० बेडको अस्पतालमा अब प्रसूति वार्डबाहेकका वार्डलाई आइसोलेसन वार्ड बनाएर १९ बेड मात्र राख्न लागिएको अध्यक्ष धितालले बताए ।

आइसोलेसन बनाउन जनरल, सर्जरी, मेडिसिन, हाडजोर्नी, नसा, ज्येष्ठ नागरिक वार्डलाई खाली गरिएको छ । ‘कोभिडका बिरामीको चापलाई मध्यनजर गरी अन्य वार्डलाई आइसोलेसन वार्ड बनाउन लागिएको छ,’ अध्यक्ष धितालले भने ।

अस्पतालमा जटिल प्रकृतिका बिरामीलाई मात्र भर्ना लिने नीति अवलम्बन गरिएको धितालले बताए । ‘भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्ने र लामो समय बस्नुपर्ने बिरामीलाई अन्यत्र सारेर सबै वार्ड खाली गरिएको छ,’ उनले भने । 

भेरीमा उपचाररत २७ संक्रमितको मृत्यु 
अहिलेसम्म भेरी अस्पतालमा उपचाररत २७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । २६ भदौदेखि सुरु भएको कोरोना विशेष आइसोलेसनबाट तीन सय ६० जनाले सेवा लिएको आइसोलेसन संयोजक वरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले बताए । 

अहिलेसम्म तीन सय १५ जना निको भएर फर्किएका छन् । अहिले ५२ जना उपचाररत छन् । भेरी अस्पतालको कोभिड वार्डमा ७२ शड्ढया छन् । आइसोलेसनमा रहेकामध्ये एकजना भेन्टिलेटरमा र १५ जना आइसियूमा छन् । आइसियू र भेन्टिलेटरमा रहेका दुईजनाको स्वास्थ्य अवस्था नाजुक रहेको डा. यादवले बताए ।

कोरोनासँग खेलबाड गरेका कारण मृत्युदर बढेको उनको भनाइ छ । राम्रो स्याहार, सुसार नपाउँदा होम आइसोलेसनमा बसेकाहरूलाई निमोनिया हुने सम्भावना अधिक रहेको बताउँदै डा. यादवले उपचारका लागि ढिलो गरी आएकाहरूमा स्वास्थ्य समस्या देखिएको बताए ।

‘रोगको पहिचान ढिलो गरी भएपछि समयमा उपचार पाउँदैनन् । समयमा उपचार नपाए कोरोना संक्रमितलाई निमोनिया हुने सम्भावना हुन्छ,’ डा. केसीले भने, ‘निमोनिया भए उपचारमा समस्या हुन्छ । निमोनिया नै मृत्युको कारण बन्ने गरेको छ ।’ भेरी अस्पतालमा आएका अधिकांशलाई निमोनिया भएको उनको भनाइ छ । 

थप ८० बेडको आइसोलेसन सञ्चालनको तयारी
भेरी अस्पतालमा थप ८० बेडको आइसोलेसन सञ्चालनमा आउने तयारी गरिएको छ । तिहारपछि झनै जटिल अवस्था आउन सक्ने विश्लेषण गर्दै अस्पतालले थप ८० बेडको आइसोलेसन सञ्चालनको तयारी गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालले बताए । यसको काम अन्तिम चरणमा पुगेको उनले बताए । 

सुझावित समाचार