निजी क्षेत्रको मनोबल नबढाई अर्थतन्त्र गतिशील हुँदैन : अर्थमन्त्री पौडेल

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाईकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबारको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रविना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका हुन् ।

कोभिडले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरुत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्रविना सम्भव नभएको उनले स्पष्ट पारे । त्यसैले प्रतिकूल अवस्थामा पनि व्यवसाय सुरु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकूल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको उनले बताए । 

त्यस्तै सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टिमुलस प्याकेजहरू कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरू घटाउन माग राखे । सरकारले राजस्वका दरहरू घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकारसमेत बढ्ने उल्लेख गर्दै उनले छिटोभन्दा छिटो राजस्वका दरहरू घटाउनुपर्ने बताए । 

करका दरहरू उच्च हुँदा कतिपय सामानहरूको अवैध आयात हुने गरेको व्यवसायीले बताएका छन् । त्यसैले भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि करका दरहरूमा सुधार आवश्यक रहेको व्यवसायीको तर्क छ ।

सुझावित समाचार