बाइडेन भन्छन्– ट्रम्पले हार स्वीकार नगर्नु लाजमर्दो, उनले अस्वीकार गर्दैमा सत्ता हस्तान्तरण रोकिँदैन

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनबाट आएको परिणाम अस्वीकार गर्नुलाई लाजमर्दो भनेका छन् । मंगलबार आयोजित कार्यक्रममा उनले ट्रम्पले निर्वाचनको नतिजा अस्वीकार गर्दैमा सत्ता हस्तान्तरणमा केही फरक नपर्ने पनि बताएका छन् । उनले भने, ‘हामीले बनाएको योजनामा ट्रम्पको निर्णयले केही फरक पर्दैन । हामीले विश्वका नेताहरूसँग कुराकानी सुरु गरिसकेका छौँ ।’

डेलावेयरस्थित विलमिंगटनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘साँच्चै भन्नुपर्दा ट्रम्पको यो लाजमर्दो हर्कत हो । यसले उनलाई राष्ट्रपति पदमा राखिराख्न कसैगरी पनि मद्दत गर्दैन । विश्व नेताहरूसँगको कुराकानीमा पनि पछिल्लो निर्वाचन परिणामले अमेरिकालाई पुनः एकपटक प्रजातान्त्रिक बाटोमा अडिग रहेको पुष्टि गरेको बताएका छन् ।’ 

उनले आगामी २० जनवरीपछि सबै ठीक हुने पनि बताएका छन् । अमेरिकाको निर्वाचन आयोगले आधिकारिक रूपमा बाइडेनलाई राष्ट्रपति घोषित नगरे पनि यहाँका ठूला मिडियाहरूले निर्वाचन परिणामअनुसार उनलाई राष्ट्रपति घोषणा गरिसकेका छन् ।
 

सुझावित समाचार