जोखिम माेलेर भत्ता लिन बाध्य वृद्धवृद्धा

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणको दर उच्च बन्दै हटस्पट बनेको दैलेख सदरमुकामको दैलेख बजारमा ११ वडाका वृद्ध नागरिकहरूले सकस खेप्नुपरेको छ । 

भत्ता लिनका लागि विगत चार दिनदेखि भिडका साथ बस्नुपर्ने बाध्यतामा ज्येष्ठ नागरिक रहेका छन् । 

सदरमुकाम दैलेख बजारमा करिब तीन सयभन्दा बढीको संख्यामा लक्षणसहितका कोरोना बिरामी छन् । 

यस्तो अवस्थामा वृद्ध भत्ता लिन आएकाका बीचमा न त कुनै भौतिक दूरी कायम राखिएको देखिन्छ न त कुनै सावधानी । 

विगत चार दिनदेखि यस्तै भिड बैंकअगाडि लागिरहेको छ । अधिकांशले मास्क लगाएको देखिँदैन । महिलाहरू साना बालबालिका च्यापेर भत्ता बुझ्ने लाइनमा बस्न बाध्य छन्, ज्येष्ठ नागरिकहरूको हालत पनि त्यस्तै छ । 

नारायण नगरपालिकाभित्रका ११ वडाका नागरिकहरूलाई एकैपटक भत्ता बुझ्न बोलाएपछि बैकमा यस्तो भिड बढेको हो । 

बैकले भने भिड धेरै भएपछि नजिक रहेको विद्यालय हाताभित्र ज्येष्ठ नागरिकहरूलाई बसालेको छ । 

कोरोना कहरका वेलामा पालो मिलाएर बोलाउनुपर्नेमा दसैँमा भत्ता बुझ्न नपाएका ज्येष्ठ नागरिकहरू तिहारको अवसरमा भत्ताको निकै आवश्यक भएको भन्दै बैकमा भिड गरेर भए पनि रकम लिने तयारीमा छन् । 

वृद्धवृद्धा र दीर्घरोगीहरूलाई कोरोना संक्रमणको जोखिम धेरै हुने भएकोले स्थानीय सरकार र बैकले सुरक्षा व्यवस्थापन मिलाउनुपर्नेमा झन् हेला गरेको ज्येष्ठ नागरिकको गुनासो छ । 

‘नगरपालिकाले पनि हामी वृद्ध नागरिकहरूलाई सूचना गरेर समय मिलाएर बोलाउनुपर्ने हो । सदरमुकाममा झन् कोरोना फैलिएको छ, हामीलाई कसैले वास्ता गरेका छैनन्,’ एक वृद्धले गुनासो गरे । 

नारायण नगरपालिकाले गत वर्षदेखि बैंकमार्फत रकम दिने प्रावधान सुरु गरेपछि हरेक चौमासिक अवधिमा यस्तै भिड हुने गरेको छ ।

सुझावित समाचार