कोरोना महामारीको बीचमा पनि सोलुखुम्बुमा ब्याडमिन्टनको आधारभूत प्रशिक्षण सम्पन्न भएको छ । सदरमुकाम सल्लेरीमा सञ्चालन गएको १५ दिनको आधारभूत प्रशिक्षणमा १३ जना सहभागी थिए ।
ब्याडमिन्टन सिक्न चाहनेहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले आधारभूत प्रशिक्षणको आयोजना गरिएको सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।
‘कोरोना महामारीले लामो समयदेखि खेलकुद गतिविधि नै ठप्प छ । संक्रमणबाट बच्ने उपायसहित प्रशिक्षण सञ्चालन गरेका छौँ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘कोरोना संकटको समयमा ठप्पप्रायः बनेको खेल गतिविधि यसले पुनः सुचारु होला भन्ने विश्वास छ । साथै, आधारभूत प्रशिक्षणले ब्याडमिन्टन खेलप्रति इच्छुकहरूलाई थप आकर्षित गर्नेछ भन्ने विश्वास लिएको छु ।’
प्रशिक्षणको अन्तिम दिन गरिएको प्रतिस्पर्धामा माया राई र मिङमार डोमा शेर्पाको जोडी प्रथम भएको छ । यस्तै, माया शेर्पा र प्रतिभा राईको जोडी दोस्रो तथा गंगा राई र अनिता तामाङको जोडी तेस्रो बन्यो । उनीहरूले आर्थिक पुरस्कारसमेत प्राप्त गरे ।