डाँडामै पानी आएपछि फर्किन थाले बसाइँ गएकाहरू
दश वर्षअघि इलाम नगरपालिका–११ सोयाकको बालकन्या माध्यमिक विद्यालयका शिक्षक नरेन्द्रप्रसाद आचार्य नवमी डाँडाको घरबाट बेसी झरे । उनलाई आफ्नो गाउँ छाडेर बसाइँ सर्न मन थिएन । तर, के गर्नु ? खानेपानीको चरम अभावले उनलाई नवमी डाँडामा बस्न दिएन । अहिले स्थिति फेरिएको छ । आचार्य अहिले आफ्नो पुरानै घर फर्कने तरखर गर्दै छन् ।
बसोवासका लागि घर बनाउँदै छन् । नवमी डाँडामा खानेपानी आयोजना बन्न थालेपछि उनले पुरानो थलोमा घर बनाउन थालेका हुन् । खानेपानीको प्रबन्ध भएपछि उनी नवमी डाँडामै फर्किने भएका हुन् । सोयाकको नवमी डाँडामा खानेपानीको चर्को अभाव भएकाले १८ परिवार त्यहाँबाट बसाइँ सरेका थिए । खानेपानीको प्रबन्ध भएपछि बसाइँ सरेकाहरू धमाधम फर्कन थालेका छन् ।
‘कसैले यहाँको घरजग्गा बेचेर हिँडेका छैनन्, खानेपानी आएपछि धेरैजना यहीँ फर्किने तयारीमा छन्,’ आचार्यले भने, ‘अन्तै गरेर वासको व्यवस्था गरेकाहरू त्यो छाडेरै त नफर्किएलानन्, तर यहाँ खाली रहेको घरबारी अरूलाई भए पनि खेती लगाउन दिन सक्छन् ।’
एक गाग्रो पानीले बिहान बित्ने बाध्यता हट्यो
झापाबाट विवाह गरेर ०३२ मा सोयाक आएकी टीका पराजुलीले खानेपानीको अवस्था सुनाउँदा माइतमा रुवाबासी नै हुन्थ्यो । सोयाकमा दैनिक एक घन्टा बोकेर एक गाग्रो खानेपानी व्यवस्था गर्नुपथ्र्यो । माइतमा खानेपानीको खासै समस्या थिएन । अहिले ७० वर्षको उमेर पुगेकी उनी खानेपानीको व्यवस्था भएपछि दंग छिन् । ‘अबका बुहारीहरूले हामीले जस्तो दुःख गर्नुपरेन,’ उनले भनिन्, ‘हाम्रो उमेर त पानी बोकेरै बित्यो ।’
पानीको मुहान नहुँदा सोयाकको माथिल्लो गाउँका बासिन्दाले बोझोखोल्सी, बुढोधारा र तल्लोबारी भन्ने ठाउँबाट पानी ल्याएर प्रयोग गर्थे । ती स्रोतमा पनि पर्याप्त पानी थिएन । आलोपालो गरेर गाग्रो भर्नुपर्थ्यो । बोकेर एक गाग्रो पानी ल्याउन दैनिक एक घन्टा लाग्थ्यो । यसरी ५० भन्दा बढी परिवारले बोकेर पानी खान्थे ।
नगरपालिकाले गर्यो खानेपानीको व्यवस्था
पानीको मुहान पनि नभएपछि नगरपालिकाले बोरिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर खानेपानीको व्यवस्थापन गरिदिएको हो । आयोजनाको एक कार्यक्रमबीच नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे । योजनाको उद्घाटन गर्दै प्रमुख बस्नेतले भने, ‘पानीका कारण अब यहाँको जीवन कष्टकर हुनेछैन, पानी खोज्दै बसाइँ सरेर जाने दिन सकिए ।’
खानेपानी समस्या समाधान भएपछि ठूलो राहत मिलेको वडाध्यक्ष रविन एक्तेनको भनाइ छ । ‘योजना सञ्चालन गर्नलाई नजिकमा खानेपानीको मुहान थिएन । यहाँका जनताले वर्षौँदेखि धेरै कष्ट खेपिरहेका थिए । डिप बोरिङ प्रविधिबाट भए पनि खानेपानीको व्यवस्था भएपछि वर्षौँदेखिको कष्ट सकिएको छ,’ वडाध्यक्ष एक्तेनले भने, ‘खानेपानीकै अभावले धेरै परिवार घरजग्गा त्यसै छाडेर बसाइँ सरेका थिए । अब पानी आएपछि उहाँहरूले पनि हामी फर्किन्छौँ भन्न थाल्नुभएको छ ।’
एक वर्षमै सम्पन्न भयो आयोजना
इलाम नगरपालिकाले सरकारको विशेष अनुदानमा आयोजना बनाएको छ । एक वर्षअघिबाट सुरु भएको खानेपानी आयोजनामा दुई करोड ४७ लाख ८० हजार रुपैयाँ लगानी भएको छ । सोलार पम्पिङबाट बोरिङ गरेर निकालेको पानी डाँडामा बनाइएको ट्याङ्कीमा पुुर्याउँछ । त्यसमा अर्को मुहानबाट पनि पानी लिफ्ट गरेर लगिएको छ । दुईवटा मुहानबाट साढे चार लिटर प्रतिसेकेन्ड पानी लिफ्टिङबाट तीनवटा ट्यांकीमा जम्मा गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको छ । सुरुमा ६४ घरका लागि भनेर थालिएको आयोजनाबाट अहिले एक सय १० परिवारलाई वितरण गरिएको छ ।
आयोजनामा तीनवटा गरेर एक लाख ६० हजार लिटर क्षमताका ट्याङ्की निर्माण गरिएको छ । त्यस्तै, वितरण चेम्बर एउटा, वास आउट चेम्बर एउटा, भल्ब बक्स चेम्बर सातवटा, एयर भल्ब चेम्बर दुईवटा, १५.७५ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरिएको छ । योजनाअन्तर्गत कार्यालय भवन र खानेपानी आयोजनाको सुरक्षाका लागि सिसिटिभी क्यामेरासहित ६ वटा सोलार बत्ती निर्माण गरिएको छ ।