नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
नेकपाका दुई अध्यक्षबीच विवाद चुलिएको वेला कार्यकारी अध्यक्ष प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका हुन् ।
बिहीबार मात्रै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्दै सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए ।
दुवै अध्यक्षबीच पार्टीभित्र देखापरेको विवादबारे कुनै सहमति जुट्न नसकेपछि प्रचण्डले आज अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार छलफलमा सहभागी हुन सबै सचिवालय सदस्यलाई खबर गरिएको छ ।
आजको बैठकमा पार्टीमा देखिएको गतिरोध र स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताइन्छ ।
प्रचण्ड सचिवालयका अनुसार अध्यक्ष ओलीले बैठक पनि बोलाउन नमान्ने र यसअघिको सहमति पनि नमान्ने अवस्था सिर्जना गरेकोले पार्टीलाई एकताबद्ध बनाउन र भावी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो ।