प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले बिहीबार केही कानुन व्यवसायीसँग छलफल गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।
पार्टीभित्रै विवाद चुलिएका वेला प्रधानमन्त्रीले लिन सक्ने एक्सन, महामारीको बहानामा उठाउन सक्ने कदमको कानुनी अवस्थाबारे नेताहरूले कानुन व्यवसायीसँग छलफल गरेको स्रोतको भनाइ छ ।
नेताहरूले संवैधानिक र कानुनी व्यवस्थाबारेमा आफूनिकट कानुन व्यवसायीसँग सुझाब लिएको स्रोतले बतायो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेको, पार्टी र सरकारमा एकालौटी ढंगले अघि बढेको विषयमा प्रचण्ड, नेपाल, झलनाथ खनाल समूह असन्तुष्ट छन् ।
पार्टीभित्र विवाद बढ्दै गएका वेला बुधबार प्रधानमन्त्री ओलीले आफूले जुनसुकै परिस्थितिमा प्रधानमन्त्रीबाट राजीनामा नदिने र आफूले राजीनामा दिए देश बर्बादीतिर जाने बताएका थिए ।