यो भाइरसले जति खती गरेको छ, त्योभन्दा ठूलो खती शिक्षामा पुगेको अवरोधले गरेको छ
यो कोभिड–१९ को महाव्याधिले शिक्षा क्षेत्रमा इतिहासकै ठूलो अवरोध पैदा गरेको छ । शिक्षाको पहुँचमा मौजुद असमानतालाई थप बढाइरहेको छ । युनेस्कोका अनुसार अहिले विश्वभरका एक अर्ब ६० करोड विद्यार्थी विद्यालय बन्दबाट प्रभावित छन् । विद्यालय बन्द हुँदाका दुष्परिणाम अनगिन्ती छन् । शिक्षा क्षेत्रको दशकौँको प्रगति गुमेर जाने खतरा बढेर गएको छ । विद्यार्थी, खासगरी केटीहरूका लागि यसका गम्भीर परिणाम हुनेछन् । हाम्रा पूर्ववर्ती अनुभवले के देखाउँछन् भने स्कुल बन्द हुँदा केटीहरूलाई घरेलु धन्दाको भार बढ्ने र शैक्षिक उन्नयन बाधित हुने, बलजफ्ती एवं कलिलो उमेरमै विवाह तथा गर्भधारणका साथै यौनजन्य हिंसाका जोखिम धेरै बढ्नेछन् ।
गुणस्तरीय शिक्षाले लैंगिक समानता, समावेशी आर्थिक वृद्धि तथा स्वास्थ्य सुधारलाई प्रवर्धन गर्ने हुँदा यो संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यका लागि एकदमै महत्वपूर्ण छ । शिक्षा जसरी रूपान्तरणकारी हुन्छ, यसको अभावका असर व्यक्तिका लागि उसरी नै हानिकारक हुन्छ । यसर्थ, शिक्षामा पैदा भएको यो अवरोधबाट दिगो विकास लक्ष्य हासिल गर्ने प्रयास थप अवरुद्ध हुने जोखिममा हामी छौँ । विश्वका सरकार, बहुपक्षीय एजेन्सी तथा नागरिक समाजका संगठनहरू दूरशिक्षाको प्रबन्धनमार्फत शिक्षामा पहुँच स्थापित गर्न जुटेका छन् । दुर्भाग्यवश सिकाइको यति ठूलो सम्भावना बोकेको डिजिटल साधन (इन्टरनेट तथा कम्प्युटर उपकरण) शरणार्थी तथा आन्तरिक रूपले विस्थापितजस्ता सीमान्तकृत एवं गरिबतम बालबालिकाको पहुँचबाहिर छ । यो समूहको पहुँच टिभी तथा रेडियो शिक्षाजस्ता न्यून–प्रविधिमा समेत पूर्ण रूपले छैन ।
यसबाहेक विश्वभरका फरक क्षमताका –ह्यान्डीक्याप्ड) विद्यार्थीले पनि शिक्षाको पहुँचमा ठूलो अबरोधको सामना गरेका छन्, जो यो महाव्याधिभन्दा पहिले पनि शैक्षिक असुविधामा थिए । विद्यालय बन्द हुँदा उनीहरू सबभन्दा बढी प्रभावित भएका छन् । किनकि अधिकांश दूरशिक्षाका उपाय तिनको अवश्यकताअनुरूपका छैनन् । युनेस्कोका अनुसार फरक क्षमताका बालबालिकाका लागि लो–टेक, नो–टेक, क्याम्सनिङ तथा सांकेतिक भाषाका दूरशिक्षा विकल्प हुन सक्छन् । यसर्थ, हामीले यो संकटलाई थप पहुँचयोग्य एवं समावेशी शैक्षिक प्रणाली तथा पठन विधिको विकास गर्ने सुअवसरका रूपमा लिनुपर्छ । तर, हामीले यसमा जतिसक्दो चाँडो अमल गरिहाल्नुपर्छ ।
अहिले शिक्षामा गरेको लगानीले आउँदा दशकमा विश्वलाई योग्य स्वास्थ्यकर्मी, शिक्षक एवं सुयोग्य नेताहरू दिएर लाभान्वित गराउनेछ । विकास र प्रगतिको मार्ग खोल्ने कडी पनि शिक्षा नै हो ।
विद्यालय बन्द रहेको यो अवधिमा विद्यार्थीहरूलाई शैक्षिक प्रणालीसँग जोडिराख्ने एउटा राम्रो तरिका हुन सक्छ, समावेशी एवं सर्वसुलभ दूरशिक्षा । यसले शैक्षिक क्षतिलाई सीमित बनाउनुका साथै विद्यालय खुलेपछि शैक्षिक प्रक्रियाको निरन्तरतालाई पनि सहज बनाउनेछ । किनकि विद्यालयमा सुरक्षित वापसी अति महत्वपूर्ण छ । जुनसुकै अवस्थामा पनि भर्चुअल कक्षाकोठाले शिक्षक तथा सहपाठीहरूको भौतिक उपस्थितिसहितको कक्षाकोठालाई दीर्घकालीन रूपले विस्थापित गर्न सक्दैन ।
युएनका महासचिवले शिक्षामा यो महव्याधिको सम्भावित विनाशकारी प्रभाव कम गर्न महत्वपूर्ण नीति सिफारिस गरेका छन् । भाइरसको नियन्त्रण शैक्षिक संस्थाहरू खोल्ने एक मात्रै प्रभावकारी उपाय हो । सबैको सुरक्षित विद्यालय फिर्तीका लागि अधिकारीहरूले शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्बद्ध सबै सरोकारवालालाई सुन्नु जरुरी छ । विद्यालयहरू खोल्न स्वास्थ्य समुदायसँग समन्वय गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । विश्वका सरकार प्रमुखहरू भाइरसको अनियन्त्रित प्रसार रोक्दै कसरी सुरक्षित तवरले स्कुलहरू खोल्न सकिन्छ भन्ने निर्णयमा कठिनाइको सामना गरिरहेका छन् । थुप्रै मुलुकले दूरशिक्षाको व्यवस्था र सुरक्षित एवं नियन्त्रित तवरले शैक्षिक संस्थाहरू खोल्ने उपाय गर्दै शिक्षालाई प्राथमिकतामा राखेको देख्दा मलाई खुसी पनि लागेको छ ।
यो चुनौतीपूर्ण समयमा हामीले न्यून–आय भएका मुलुकका साथै द्वन्द्व र संकट प्रभावित मुलुकलाई विशेष प्राथमिकता दिने कार्य जारी राख्नुपर्छ । नर्वेले शिक्षा क्षेत्रमा आफ्नो सहयोगलाई उच्चस्तरमा निरन्तरता दिनेछ । युनेस्को, युनिसेफ, द ग्लोबल पार्टनरसिप फर एजुकेसनजस्ता बहुपक्षीय संस्था र नागरिक समाजका संगठनहरू यसका महत्वपूर्ण साझेदार हुन् । प्रभावित सबै विद्यार्थीहरूका लागि विद्यालयमा सुरक्षित पुनरागमन सुनिश्चित गर्ने सन्दर्भमा लगानी धेरै हदसम्म घरेलु स्रोतबाटै जुटाउन जरुरी छ । यस समय राष्ट्रिय बजेट तथा विकास सहयोगहरू दबाबमा रहेको भए पनि शिक्षाका लागि लगानी छुट्याउनु निकै जरुरी छ ।
स्वभावैले शिक्षा दीर्घकालीन प्रयास हो । अहिले शिक्षामा गरेको लगानीले आउँदा दशकमा विश्वलाई योग्य स्वास्थ्यकर्मी, शिक्षक एवं सुयोग्य नेताहरू दिएर लाभान्वित गराउनेछ । विकास र प्रगतिको मार्ग खोल्ने कडी पनि शिक्षा नै हो । यो व्यक्ति तथा विश्वसमुदायको उत्तरोत्तर प्रगतिका लागि महत्वपूर्ण छ । हामीलाई थाहा छ, शिक्षाले गरिबी र शोषणलाई घटाउँछ । उत्पादकत्व वृद्धि गर्छ र उच्च आयतर्फ लैजान्छ । जसकी आमा पढ्न जान्दछिन्, उसले थप स्वस्थ र राम्रो जीवनयापन गर्न पाउँछ ।
केटीहरूलगायत सबै बालबालिकाको विद्यालयमा पुनरागमन सुनिश्चित हुनैपर्छ । मुलुकहरूको अर्थतन्त्र एवं समाजको पुनर्निर्माणका लागि पनि यो महत्वपूर्ण छ । साथै, हाम्रा सन्ततिको स्वतन्त्रताका लागि पनि यो महत्वपूर्ण छ ।
(सोलबर्ग नर्वेकी प्रधानमन्त्री हुन् )
अलजजिराबाट