एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा एक सय १६ जना पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् । उनीहरूले एजमिर सहरका भत्किएका भवनमा खोज तथा उद्धार अन्तिम चरणमा पुगेको पनि जनाएका छन् ।
भूकम्पबाट टर्कीको तेस्रो ठूलो सहर एजमिरमा दुईको मृत्यु भएको छ । यस्तै ग्रिकेली द्वीप सामोसमा पनि दुई किशोरको मृत्यु भएको थियो । टर्कीको विपत् तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरूमा खोज तथा उद्धार सकिएको जनाएको छ । सो निकायले एक हजार ३५ जना घाइते भएका र एक सय ३७ जना अझै अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उद्धारकर्ताहरूले भूकम्प गएको ९० घन्टापछि भत्किएको घरबाट एकजना तीन वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएका थिए ।
अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्निच्युडको गएको जनाएको छ । भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रिसको राजधानी एथेन्ससहित पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो । गत शुक्रबारको पहिलो भूकम्पपश्चात् एक हजार सात सयभन्दा बढी परकम्प गइसकेका छन् । तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन् ।