सामाजिक सञ्जालमा सक्रिय व्यवसायी

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

उद्योगी विनोद चौधरीले केही समयअघि आफूलाई कोभिड–१९ संक्रमण पुष्टि भएको खबर सामाजिक सञ्जालमार्फत जानकारी गराए । र, आफ्नो सम्पर्कमा रहेका साथीभाइ, आफन्त र अफिसका कर्मचारीहरूलाई सतर्क रहन आग्रह गरे । उनले यो खबर पोस्ट गरेलगत्तै मिडियाले समाचार बनाए । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएका हजारौँ कमेन्ट आए । त्यसको १० दिनपछि पिसिआर परीक्षण नेगेटिभ आएको भन्दै उनले शुभेच्छुकहरूलाई धन्यवाद दिन करिब आठ मिनेट लामो भिडियो पोस्ट गरे । फेसबुकमा त्यो भिडियो १० लाखभन्दा धेरै हेरिएको छ । तीन हजारभन्दा बढी कमेन्ट छन् । ६ हजारले सेयर गरेका छन् । 

फेसबुक र ट्विटरमा कोभिडसँग सम्बन्धित चौधरीका पछिल्ला पोस्टका प्रतिक्रिया जोड्ने हो भने लाखौँ हुन्छ । उनी सामाजिक सञ्जालहरूमा सक्रिय रहने उद्योगीमा पर्छन् । उनलाई ट्विटरमा नेपाली र विदेशीले गरी तीन लाखभन्दा बढीले फलो गर्छन् । फेसबुक पेजमा एक लाख ९१ हजारले लाइक गरेका छन् । अंग्रेजी र नेपाली दुवै भाषामा लेख्ने चौधरी ट्विटर र फेसबुकमा भेरिफाइड हुने सम्भवतः एक्ला उद्योगी हुन् । इन्स्टाग्राममा पनि सक्रिय चौधरीलाई त्यहाँ १० हजारभन्दा बढीले फलो गर्छन् ।

अर्का व्यवसायी चन्द्र ढकालले पनि आफूलाई कोभिड पोजिटिभ पुष्टि भएको खबर सामाजिक सञ्जालबाटै जानकारी गराए । उनको फेसबुक पोस्टमा स्वास्थ्य लाभको कामना गर्दै ११ सयभन्दा बढी शुभेच्छुकले कमेन्ट गरेका छन् । उनले कोभिडमुक्त भएको जानकारी पनि सामाजिक सञ्जालबाटै गराए । तैपनि उनी सामाजिक सञ्जालमा त्यति सक्रिय देखिँदैनन् । आफ्ना व्यावसायिक गतिविधिका समाचार लिंक सेयर गर्न मात्रै उनले सामाजिक सञ्जाल चलाएको देखिन्छ । कोभिड, उद्योग वाणिज्य महासंघको चुनाव, निजी क्षेत्रका खबरहरू पनि उनले सेयर गर्छन् । उनलाई ट्विटरमा ५२० जनाले पछ्याउँछन् । फेसबुकमा तीन हजार ६० जना साथीहरू छन् ।

                                                                          ०००

उद्योग/व्यवसायमा सफल व्यक्तिहरू सामाजिक सञ्जालमा कति सक्रिय र प्रभावशाली छन् भनेर हेर्दा फरक तस्बिर देखिन्छ । सेवा, उत्पादन बजारीकरणका लागि अहिले विश्वभर सामाजिक सञ्जाललाई प्राथमिकता दिइन्छ । यसकै आधारमा कम्पनीहरूले रणनीति निर्माण गर्न थालेका छन् । चिनियाँ अर्बपति ज्याक मा ट्विटरमा जोडिनुमा पनि सम्भवतः यही कारणले भूमिका खेलेको थियो । ज्याक मा ट्विटरमा आएलगत्तै उनलाई फलो गर्नेको संख्या पहिलो दिनमै लाख थियो । विश्वका अरू थुप्रै चर्चित उद्योगी तथा व्यवसायीले सामाजिक सञ्जाल चलाउँछन्, जहाँ लाखौँ शुभेच्छुक जोडिएको देखिन्छ । नेपालमा भने अवस्था अलि फरक छ । सामाजिक सञ्जाललाई बजारीकरणको औजारका रूपमा प्रयोग गर्ने नेपाली उद्योगी व्यवसायीको संख्या नगन्य छ । 

सामाजिक सञ्जालमा सक्रिय हुनेमा व्यवसायी जीवा लामिछाने पनि पर्छन् । ट्विटर र फेसबुकमा बराबरी उपस्थिति जनाउने लामिछाने विशेषतः यात्रा, साहित्य, उद्यम, विकास, वैदेशिक राजनीति, पुस्तकसँगै व्यक्तिगत जीवनसँग सम्बन्धित पोस्ट गर्न रुचाउँछन् । ट्विटरमा उनलाई ५२ हजार पाँच सयले फलो गर्छन् । उनको फेसबुक पेज भने छैन, प्रोफाइल मात्रै छ । ‘पद्मश्री पुरस्कार’का संस्थापक लामिछाने ‘सरसर्ती संसार’ पुस्तकका लेखक पनि हुन् । उनले विभिन्न सञ्चारमाध्यममा यात्रा निबन्ध लेख्दै आएका छन् । 

विनोद चौधरीका माइला भाइ वसन्त चौधरी पनि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । उनको फेसबुक पेजलाई ६ लाख ८७ हजार ४४८ जनाले लाइक गरेका छन् भने ट्विटरमा २१ हजारभन्दा बढीले फलो गर्छन् । उनी कवि र गीतकार पनि हुन् । उनले सामाजिक सञ्जालमा आफ्ना रचनाहरू पोस्ट गरिरहन्छन् । यस्तै, समसामयिक विषयवस्तु, कोभिड, स्वास्थ्यसम्बन्धी विषय, भ्रष्टाचार, अनियमितता, अध्यात्म, निजी क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक विषय, मोटिभेसनल कुराहरू पनि पोस्ट गरिरहेका हुन्छन् । उनको फेसबुक र ट्विटर हेर्दा हरेक विषयमा लेखिरहेको देखिन्छ ।

चौधरी र लामिछानेपछि सामाजिक सञ्जालमा बढी देखिने अनुहार शेखर गोल्छा, सुरज वैद्य, सौरभ ज्योति र आनन्दराज बतास हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्षका प्रत्यासीका रूपमा अगाडि आए पनि कोरोनाका कारण महासंघको चुनाव स्थगित भएको छ । चुनावी प्रचारप्रसारका क्रममा उनले सामाजिक सञ्जाललाई राम्रै उपयोग गरेका थिए । ट्विटरमा उनलाई तीन हजार ७८२ जनाले फलो गर्छन् । फेसबुकमा उनको पेज लाइक गर्ने संख्या २५ हजार हाराहारी छ । दुवै सञ्जालमा उनले विशेषगरी समसामयिक गतिविधि, आर्थिक समाचार÷विचारका लिंक सेयर गर्नेदेखि महासंघका चुनावी गतिविधि, कोभिड नियन्त्रण र यसको खोप, चाडपर्वका शुभकामना आदिबारे लेखेको देखिन्छ । ट्विटरमा २९ सेप्टेम्बरपछि उनका कुनै पोस्ट आएका छैनन् । एमसिसी नेपाल आउनुपर्ने तर्कलाई सेयर गर्नेदेखि विचार र सामाजिक क्रियाकलाप रिट्विटमा उनी सक्रिय देखिन्छन् । बजार अनुगमनको विषयमा पनि उनले आवाज उठाएको देखिन्छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ का संयोजक वैद्यलाई ट्विटरमा फलो गर्नेको संख्या तीन हजार ९६९ छ । खासगरी पर्यटन, अन्तर्राष्ट्रिय विमानस्थल, प्राकृतिक सौन्दर्यमा आफ्ना विचार र तस्बिर सेयर गर्ने वैद्यले पारिवारिक गतिविधिबारे पनि लेखिरहन्छन् । उनका बढीजसो पोस्ट भ्रमण वर्षसँग सम्बन्धित छन् । त्यसबाहेक विभिन्न जीवनोपयोगी उद्धरण सेयर गर्न उनी रुचि राख्छन् । फेसबुकमा उनको पेज भने छैन, प्रोफाइल मात्रै छ । 

व्यवसायी आनन्दराज बतास विचारसँगै आलोचनात्मक टिप्पणी पनि गर्छन् । वातावरण, बजार अनुगमन, उपभोक्ता अधिकार, व्यापारिक ठगी, राजनीति, सुशासन, कृषिदेखि करनीति, उद्योग, प्रादेशिक राजनीतिसम्मका विषयमा उनका टिप्पणी देखिन्छन् । समग्रमा उनी हरेक विषयमा लेख्छन् । ट्विटरमा उनलाई दुई हजार ५१ जनाले पछ्याउँछन् ।

                                                                              ० ००

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ट्विटरमा निष्क्रिय छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीलाई दोस्रो कार्यकालका लागि बधाई र शुभकामना दिनेबाहेक उनका अरू कुनै पोस्ट छैनन् । यद्यपि ट्विटरमा उनलाई पाँच सय १४ जनाले फलो गर्छन् । फेसबुक पेजमा भने उनलाई १० हजारले पछ्याएका छन् । त्यहाँ उनले महासंघका चुनावी गतिविधि, आर्थिक समाचार, विचार र अन्तर्वार्ताका लिंक सेयर गर्नेदेखि बधाई र शुभकामनासँगै बालविवाहविरुद्धका पोस्ट गरेकी छन् ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भने ट्विटरमा केही सक्रिय देखिन्छन् । त्यहाँ उनलाई दुई हजार ५१५ जनाले फलो गर्छन् । फेसबुक प्रोफाइलमा तीन हजार २६३ जना साथी छन् । दुवै सञ्जालमा उनले उद्योग, कोभिड, अर्थतन्त्र, निजी क्षेत्रका विषयमा विचार अभिव्यक्त गर्छन् । निजी क्षेत्रको विस्तार र सुरक्षाका लागि उनले आवाज उठाइरहेका हुन्छन् । एमसिसीको पक्षमा पनि उनले खुलेर लेखेका छन् । 

महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं एभिन्युज टेलिभिजनका मालिक तथा मिडिया व्यवसायी भाष्करराज राजकर्णिकार ट्विटर र फेसबुक दुवैमा उपस्थित छन् । यद्यपि उनी सक्रिय भने छैनन् । ट्विटरमा तीन सय चार र फेसबुकमा चार हजार ९१५ फलोअर भएका राजकर्णिकारले कोभिड, उद्योग वाणिज्य महासंघ, आर्थिक÷मौद्रिक नीति, दिवंगत राजपरिवार, प्राकृतिक सौन्दर्य, यात्राजस्ता विषयमा पोस्टहरू लेखेका छन् । 

व्यावसायिक घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ पनि सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् । उनलाई ट्विटरमा ६९३ जनाले फलो गर्छन् भने फेसबुकमा पाँच हजार साथी छन् । आध्यात्मिक स्वभावका उनी प्रायः सामाजिक सञ्जालमा धर्मकर्मका कुराहरू नै बढी पोस्ट गरिरहेको देखिन्छ । उनको फेसबुकमा धार्मिक तथा आध्यात्मिक विषयले बढी ठाउँ पाइरहेको हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत समूहतर्फबाट उपाध्यक्षका उम्मेदवार बनेका उनले पछिल्लो समय ट्विटरमा महासंघको चुनाव, अर्थतन्त्र र निजी क्षेत्रका विषयमा विचार व्यक्त गरिरहन्छन् । 

व्यवसायी सौरभ ज्योति फेसबुक र इन्स्टाग्राममा निकै सक्रिय देखिन्छन् । उनका अधिकांश पोस्टहरू बाइकसँग जोडिएका हुन्छन् । बाइकका सोखिन उनी बाइक कलेक्टर पनि हुन् । उनीसँग पुराना र महँगा बाइकको कलेक्सन छ । यसका अलावा उनी पारिवारिक तस्बिरहरू पनि पोस्ट गर्न रुचाउँछन् । फेसबुक र इन्स्टामा ट्राभल गरेका फोटोहरू पनि पोस्ट गरिरहन्छन् । उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष उम्मेदवार उनले अन्तर्वार्ता तथा आर्थिक समचारका लिंकहरू पनि सेयर गरिरहेका हुन्छन् । उनले ट्विटर अकाउन्ट खोलेको देखिन्न । 

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य पनि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । लकडाउनको अवधिमा पनि फेसबुकबाटै सकारात्मक सोच अभियानलाई अगाडि बढाइरहेका छन् । उनले फेसबुक प्रोफाइल र फेसबुक पेजमा सकारात्मक सोचसम्बन्धी पोस्टहरू गर्छन् । फेसबुकबाटै युवाहरूलाई उद्यमी बन्न उत्प्रेरित गरिरहन्छन् । इनोभेटिभ उद्यमीहरूका सफलताका कथाहरू पोस्ट गर्छन् । उनको ट्विटरमा ठूलो संख्यामा फलोअर्स थिए, तर नकारात्मक टिप्पणी बढी आएको भन्दै ट्विटर चलाउनै छाडिदिए । 

                                                                             ०००

सामाजिक सञ्जाल प्रयोगमा सबैभन्दा सुस्त व्यवसायीमा पृथ्वी पाण्डे, शशिकान्त अग्रवाल, अनुज अग्रवाल, साहिल अग्रवाल, राजेन्द्र खेतान, अजेयराज सुमार्गी, इच्छाराज तामाङ पर्छन् । पाण्डेले अहिलेसम्म ट्विटर अकाउन्ट खोलेका छैनन् । फेसबुक पेज छैन । प्रोफाइलमा एक हजार सात सय ८७ साथी छन् । ‘टाइमलाइन ट्यागिङ’लाई फिल्टर नगर्दा उनको वाल फोहोर देखिन्छ । उनी आफैँले लेखेका र सेयर गरेका पोस्ट नगन्य छन् । उनी सामाजिक सञ्जालप्रेमी व्यक्ति होइनन् । शशिकान्त पनि सामाजिक सञ्जालको दुनियाँबाट निकै टाढा छन् । उनले फेसबुक र ट्विटर अकाउन्ट पनि खोलेका छैनन् । खेतानको पनि ट्विटर अकाउन्ट छैन । फेसबुक प्रोफाइलमा उनले एनआरएन, बिमस्टेक सम्मेलन, आफूले प्राप्त गरेका अवार्डबारे लिंक सेयर गरेका देखिन्छन् । विभिन्न बधाई, समवेदना र चाडपर्वका शुभकामना सन्देशका लागि उनले सामाजिक सञ्जाललाई उपयोग गरेका छन् ।

सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङ पनि सामाजिक सञ्जालप्रेमी देखिँदैनन् । ट्विटरमा २०५ जना फलोअर भएका तामाङले त्यहाँ जम्मा दुईवटा पोस्ट गरेका छन् । फेसबुक पेज नभएका कारण प्रोफाइलको ‘प्राइभेसी’का कारण साथी नहुनेले उनका पोस्टहरू देख्न पाउँदैनन् । उनलाई पनि पछि पार्ने व्यवसायी अजेयराज सुमार्गी हुन् । अहिलेसम्म ट्विटरमा अकाउन्ट नखोलेका सुमार्गीको फेसबुक पेजमा भने एक हजार तीन सय लाइक छन् । उनले फेसबुकलाई शुभकामना सन्देश दिन मात्रै प्रयोग गरेका छन् । 

सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति जनाउनेमा विनोद चौधरी अग्रस्थानमा छन् । कोभिड–१९ रोकथाम तथा उपचारका लागि चौधरी फाउन्डेसनले गरेको योगदानसँगै आफ्ना तीन छोराका सफलताका कथा, विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वलगायत थुप्रै विषयमा चौधरीले पोस्ट गरिरहन्छन् । विश्वका विभिन्न भाषामा अनुदित उनको आत्मकथाबारे आएका प्रतिक्रिया पनि उनले सेयर गर्छन् । ट्वीटर र फेसबुकमा राम्रै ‘फ्यान फलोइङ’ भएका चौधरीका छोरा निर्वाण, राहुल र वरुण पनि विभिन्न सञ्जालमा आ-आफ्नै तरिकाले सक्रिय देखिन्छन् । 

सुझावित समाचार