पार्टी विभाजन हुन नदिन अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग संवाद गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

सोमबार बिहान आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताए । 

हिजो आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरूले पार्टी एकतालाई कुनै पनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाब दिएको उनले बताए । 

नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तारित गर्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । 

उनले भने, ‘हामीले के भन्यौँ भने हामीले ठूलो मिहिनेत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तारित गर्ने, सामाजिक–आर्थिक रूपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटि अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौँ भनेर बैठक राख्ने नै प्रयत्न गरौँ । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौँ, खुला ढंगले छलफल गरौँ र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौँ, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौँ भनेर हामीले भनेका हौँ । त्यसपछाडि उहाँहरूको कुराकानी भएको स्थिति छैन ।’

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरूसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताए । 

आइतबार साँझको ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनै पनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रूपमै अलग भएर काम गरौँ भन्ने प्रस्ताव राख्नुभएको बताएको प्रवक्ता श्रेष्ठले बताए । 

विभिन्न सञ्चारमाध्यमहरूमा आएजस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिनुभएको अभिव्यक्ति साँचो रहेको पनि स्पष्ट पारे । 

उनले अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको बताए । 

उनले भने, ‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभएअनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिनँ, तपाईंहरूले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस्, तर बहुमतले गरेको निर्णय म मान्दिनँ । भनेपछि तपाईंहरूले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दै पनि तपाईंहरूले आफ्नैतर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउना साथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईंहरू तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलगअलग होऔँ । अब एकै ठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मिहिनेत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता–कार्यकर्ताले पहल गर्नुपर्ने बताए । 

पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उनको भनाइ छ । 

पार्टीभित्र अहिले औपचारिक रूपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस सुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिए ।

सुझावित समाचार