नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाउने प्रस्ताव गरेको दाबी गरेका छन् । आफ्नै निवास खुमलटारमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासहितको बैठकमा प्रचण्डले ओलीसँगको छलफलबारे ब्रिफिङ गरेका हुन् ।
ओलीले तत्काल पार्टीको कुनै बैठक सम्भव नभएको र एकपक्षीय रूपमा हुने निर्णय आफूले नमान्ने, बरु पार्टी अलग गर्ने प्रस्ताव गरेको प्रचण्डलाई उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले बताए । प्रचण्ड र ओलीबीच पछिल्लो पटक शनिबार छलफल भएको थियो ।
खुमलटार छलफलमा सहभागी नेताहरूले पार्टी एकता बचाउनुपर्ने भन्दै ओलीसँग थप संवाद गर्न प्रचण्डलाई भनेका छन् । मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, नेकपा कर्णालीको विवाद र ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायतका विषयमा ओली र प्रचण्डबीच विवाद छ ।